यस वर्ष गोसाइँकुण्डमा जमेन पानी

हिमाल प्रेस २ फागुन २०७९ ९:२३ | Tuesday, February 14, 2023
यस वर्ष गोसाइँकुण्डमा जमेन पानी

रसुवा- उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ। गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन्।

उच्च हिमाली पाखामा चार–पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्दथ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात नभएको किसानले जनाएका छन्।

जिल्लामा ९ हजार हेक्टरभन्दा बढी हिमशृङ्खलाको पहाड छन्। डिभिजन वन प्रमुख अनिल रेग्मीले हिमपात तथा वर्षा नहुँदा वन वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई जंगलका बीच भागमा खानेपानीको समस्या पर्ने सम्भावना बढेको जानकारी दिए।

उनले हिउँदे वर्षाको कमीले ठाउँ–ठाउँका खोल्सा सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जसँग मिलेर जंगलका बीच भागमा पोखरी बनाउने कार्यक्रम अगाडि बढाएको बताए।

२०४९ मा भएको हिमपातको स्मरण गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भने, ‘त्यो साल ९ दिनसम्म हिउँ पर्‍यो, हिउँ झण्डै त्रिशूली नदी नजिकै पुगेको थियो। ठाडेबाट धुञ्चेसम्म ९ किमी सडक हिमपातले अवरूद्व हुँदा खाद्यान्नसमेतको संकट पर्न गई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तत्कालीन समय तैनाथ नेपाली सेना दि फेमस महिन्द्र दलगणले हिउँको डल्ला फुटाली यातायात सञ्चालन गराएको थियो।’

२०६३ तिर पनि हिमपातले ठाडे–बोकेझुण्ड खण्डको सडक पाँच दिनसम्म बन्द हुँदा सेनाकै सहयोगमा हिउँ पन्छाई यातायात सञ्चालन गरिएको बताइन्छ। समुद्र सतहबाट एक हजार सात सय मिटर क्षेत्रसम्म पर्ने हिउँ अहिले क्रमिकरूपले हिमरेखामाथि सर्दै गएको र यस वर्षमा हिमपात नहुँदा लाङ्टाङको चुचुरोसमेत कालो देखिँदै गएको स्थानीय बासिन्दाले जनाएका छन्।

गोसाइँकुण्डभन्दा माथिका डाँडामा समेत हिउँ नभएको जनाउँदै अल्टिच्युट एयरका वरिष्ठ चालक विवेक खड्काले गत वर्षको जस्तो यस वर्ष गोसाइँकुण्ड दहमा पानी नजमेको जानकारी दिए। उनले भने, ‘कुण्डमा स्नानका लागि कुनै समस्या छैन।’ उनका अनुसार हेलिकोप्टरबाट स्नानका लागि फाट्टफुट्ट भक्तजन सो स्थानमा गइरहेका छन्। -रासस

प्रकाशित: २ फागुन २०७९ ९:२३ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast