मेटमणिको प्रश्‍न- वर्षमा १६ अर्बको तरकारी किन्‍ने नेपाल कृषिप्रधान देश हो?

हिमाल प्रेस १२ फागुन २०७९ १५:२४ | Friday, February 24, 2023
मेटमणिको प्रश्‍न- वर्षमा १६ अर्बको तरकारी किन्‍ने नेपाल कृषिप्रधान देश हो? फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नेपालमा वार्षिक खर्बौं रुपैयाँको खाद्यान्न र तरकारी भारतलगायत विदेशबाट हुने आयातलाई रोक्नुपर्ने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘नेपालमा अघिल्लो वर्ष ४७ अर्ब रुपैयाँको खाद्यान्न र १६ अर्ब रुपैयाँको तरकारी र यति नै रकम बराबरको रसायनिक मल भित्रिएको छ। कृषिप्रधान देश नेपालमा यस्तो अवस्था कहिलेसम्म रहने हो? यसलाई सरकारले रोक्नुपर्छ,’ उनले भने, ‘हामीले नेपालमै प्रांगारिक मल बनाएर, मल र बिउ विजनमा योजना बनाएर यहीं उत्पादन गर्ने हो भने भारत जाने रकम रोक्न सकिन्छ।’

उनले कृषकहरूको विमाको व्यवस्था गर्ने, स्थानीय सरकारलाई जोडेर कृषि सुधार गर्न पनि सरकारसँग माग गरे।

यस्तै अघिल्लो वर्ष ३ खर्बको पेट्रोल, डिजेल नेपाल भित्रिएकाले यसलाई रोक्न सरकारले विद्युतीय सवारी साधनलाई सरकारले प्रवर्द्धन गर्दै ठाउँ-ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने बताए।

अर्थमन्त्री विष्णु पौडेलले लागु गरेको प्रशासनिक खर्च कटौती गर्ने उपायले सरकारको आयमा वृद्धि नहुने चौधरीले तर्क गरे। ‘यसरी सरकारको खर्च कम हुँदैन, राजस्व वृद्धि र राजस्व छली नियन्त्रण गर्नुपर्छ,’ उनले भने।

अर्थतन्त्रसम्बन्धी ऐन, कानुनमा भएका कमिकमजोरीहरू संसदीय समिति बनाएर छलफल गरेर सुधार गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १२ फागुन २०७९ १५:२४ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast