 
                             
                                            काठमाडौँ– नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा दशौं वार्षिकोत्सव तथा मुक्तक दिवस कार्यक्रम सप्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको हो।
दशौं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले पहिलो पटक नेपाली साहित्यको पहिलो मुक्तककार भीमदर्शन रोक्काको नाममा स्थापित भीमदर्शन मुक्तक पुरस्कार र कृष्ण रत्न चेतन मुक्तक पुरस्कार गरी दुई जनालाई सम्मान गरेको छ।
प्रतिष्ठानले भीमदर्शन मुक्तक पुरस्कारमा मुक्तककार यादव खरेललाई प्रदान गरेका छ्न्। उनलाई नगद ५१ हजार रूपैयाँसहित सम्मानित गरेको हो। उनी मुक्तककार मात्र नभएर गायक पनि हुन्। उनले चलचित्रसम्बन्धी गीत रचना गरेका छन्।
यस्तै कृष्ण रत्न चेतन मुक्तक पुरस्कारमा मुक्तककार रुद्र ज्ञावलीलाई प्रदान गरेको छ। नगद ३१ हजार रूपैयाँसहित उनी पुरस्कृत भएका हुन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला उपस्थित थिए।
साथै अन्य सहभागीहरूमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष तथा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य राधेश्याम लेकाली, प्रतिष्ठानका सहसचिव यादव भट्टराई, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लक्ष्मण गौतम, प्रतिष्ठानका सल्लाहकार उषा शेरचनलगायत थुप्रै साहित्यकार तथा मुक्तककारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रतिष्ठानले विभिन्न मुक्तककारहरूको मुक्तक संग्रह स्मारिका पनि लोकार्पण गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 