मधेश प्रदेश कमिटीका १० नेतालाई एमालेले गर्‍यो कारबाही

हिमाल प्रेस ६ फागुन २०७९ २०:०३ | Saturday, February 18, 2023
मधेश प्रदेश कमिटीका १० नेतालाई एमालेले गर्‍यो कारबाही

जनकपुरधाम– नेकपा एमाले मधेश प्रदेश कमिटीका १० जना नेता कारबाहीमा परेका छन्। पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको भन्दै एमाले मधेश प्रदेश कमिटी सचिवालय बैठकले ती नेतालाई कारबाही गर्ने निर्णय गरेको हो।

बैठकले रिना साह, रेवती पन्त, प्रेमलाल साह कानु, बसरुद्दिन राइन, प्रकाश थापा, मनोज गुप्ता, जसवन्त यादव, वासुदेव महतो थारु, रामपृत महतो थारु, मौजेलाल साह कानुसहित १० नेताहरूलाई कारबाहीका लागि सिफारिस गरेको हो।

रौतहट मौलापुर नगरपालिकाकी मेयर र आमजनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी केन्द्रीय सचिवालयसमक्ष कारबाही सिफारिस गरिएको प्रदेश कमिटी प्रचार प्रसार विभाग उपप्रमुख अवधेश कामतले जानकारी दिए।

यस्तै प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्तसहित अन्यलाई ३ महिनाका लागि निलम्बन गरिएको उनले बताए।

३ महिनाका लागि निलम्बित हुनेहरूमा देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानु, प्रदेश सदस्यहरू बसरुद्दिन राइन, सर्लाहीका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका जिल्ला सदस्यहरू मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्वजिल्ला सदस्य मौजेलाल साह कानुलगायत रहेको कामतले जानकारी दिए।

उनीहरूलाई मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारहरूलाई नसघाएको, फरक पार्टीको चुनावी प्रचार प्रसारमा लागेको, पार्टीलाई असहयोग हुने गतिविधिमा लागेकाले कारबाही सिफारिस गरिएको बैठकको निष्कर्ष छ।

प्रकाशित: ६ फागुन २०७९ २०:०३ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast