प्रजातन्त्र दिवसमा ओलीले फेरि उठाए अदालतको फैसलामाथि प्रश्‍न

हिमाल प्रेस ७ फागुन २०७९ ७:५५ | Sunday, February 19, 2023
प्रजातन्त्र दिवसमा ओलीले फेरि उठाए अदालतको फैसलामाथि प्रश्‍न फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि अदालतमाथि प्रश्न उठाएका छन्। प्रजातन्त्र दिवसको अवसरमा आज आइतबार जारी गरिएको शुभकामना सन्देशमा उनले संवैधानिक प्रबन्धको गलत व्याख्या गरेर सरकारबाट बाहिर पुर्‍याइएको बताएका हुन्।

‘एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको र संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा सरकारबाट बाहिर पुर्‍याइएपछि अवरुद्ध हुन पुगेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानलाई अझ सवल रूपमा अगाडि बढाउन चाहेको छ,’ सन्देशमा उल्लेख गरेका छन्।

ओलीले बेलाबेलामा अदालतको फैसलामाथि प्रश्न उठाउने गर्छन्। बालुवाटार छाड्ने बेला पनि देशवासीका नाममा सम्बोधन गर्दै उनले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। त्यतिबेला उनले ‘लोकतन्त्रमाथि विश्वास गर्ने सबैलाई चिन्तित तुल्याएको’ बताएका थिए।

२०७८ असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका थिए। त्यतिबेलाकै असन्तुष्टि उनले बेलाबेलामा देखाउने गर्छन्। उनले आफूले गरेको संसद् विघटन सही हो भन्ने प्रमाणित गराउन खोजेका छन्।

यस्तै ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन्। उनले नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ विन्दुका रूपमा स्थापित गरेको बताएका छन्।

शुभकामना सन्देशमा अध्यक्ष ओलीले जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्ने अमर सहिद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाउँदै प्रजातन्त्र प्राप्त भएको दिनले जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर भएको सन्देशमा उल्लेख छ।

संविधानसभामार्फत जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै सुशासन र विकासको दिशामा अघि बढिरहेको उनले बताएका छन्।

प्रकाशित: ७ फागुन २०७९ ७:५५ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast