 
                             
                                            पोखरा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकले समृद्धि हासिल गर्न शिक्षाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले शैक्षिक जनशक्तिको पलायन रोक्नु उस्तै चुनौती पनि रहेको औंल्याए।
पोखरा विश्वविद्यालयको सोमबार १८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्। उनले विभिन्न कारण विदेश पलायन हुने जनशक्ति रोक्नका लागि स्वदेशमै रोजगारी र सीपको विकास गर्नुपर्ने अभिभारा सबैको काँधमा आइपुगेको पनि बताए।
उनले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताए।
पोखरा ३० लेखनाथ ढुंगेपाटनस्थित विश्वविद्यालय परिसरमा भएको दीक्षान्त समारोहमा करिब ७ हजार जना विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा भारतको नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयु) का उपकुलपति प्रा.डा. उमा भारद्वाज प्रमुख अतिथि थिइन्।
कुल ६ हजार ९ सय ९९ जना विद्यार्थी दीक्षित भएकोमा डिन लिस्टमा पर्न सफल ५ सय ७२ विद्यार्थी थिए। समारोहमा स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीले स्वर्णाङ्कित कुलपति पदक तथा स्नातक तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीले स्वर्णाङ्कित अक्सफोर्ड पदक प्राप्त गरेका हुन्।
स्नातक तहका कार्यक्रममा सीजीपीए ३.७ वा सोभन्दा बढी अंक तथा स्नातकोत्तरमा सीजीपीए ३.८ वा सोभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई डिन लिस्ट उपाधिबाट दीक्षित गरिएको हो। विश्वविद्यालयबाट योसहित हालसम्म ५५ हजार ९ सय ७ जना विद्यार्थी दीक्षित भएका छन्।
यो विश्वविद्यालय नेपालमै सबैभन्दा ठूलो संख्यामा निशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ। गत वर्ष विभिन्न संकायका स्नातक तहको कार्यक्रममा ९ सय ७२ जनाले र स्नातकोत्तर, एमफिल तह तथा विद्यावारिधिका विभिन्न कार्यक्रममा १ सय ५४ जना गरी कुल १ हजार १ सय २६ विद्यार्थीले निशुल्क छात्रवृत्ति पढ्ने अवसर पाएका थिए।
यस वर्ष स्नातकमा ८ सय १६ विद्यार्थीले निशुल्क छात्रवृत्ति पढ्ने अवसर पाएका छन्। विश्वविद्यालयले चाँडै नै पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई परिमार्जित छात्राबास भवन र नवनिर्मित भवनमा फुल फेजमा संचालन गर्ने तयारी रहेको जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 