पोखरामा एटीएम फोर्न प्रयास गर्ने दुई जना पक्राउ

हिमाल प्रेस १० फागुन २०७९ १८:५८ | Wednesday, February 22, 2023
पोखरामा एटीएम फोर्न प्रयास गर्ने दुई जना पक्राउ एटीएम फुटाउने प्रयासमा संलग्न भएको घटनामा पक्राउ परेका दुई जना। तस्बिर- कास्की प्रहरी

पोखरा– एटीएम फोर्ने प्रयासमा संलग्न २ जना युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। उनीहरूले एकै रातमा पोखरास्थित विभिन्न बैंकका शाखाका ३ एटीएम मेसिन फोर्न प्रयास गरेको अभियोग छ।

पक्राउ पर्नेमा उदयपुरको गाईघाट नगरपालिका ७ स्थायी घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ स्थायी घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

उनीहरूले मंगलबार राति सवा १२ बजेको समयमा पोखरा रामबजारस्थित एनआईसी एशिया बैंक, राति सवा १ बजे पोखरा १५ स्थित नेपाल बैंक लि.र ४ बजे रामबजारस्थित सांग्रिला डेभलपमेन्ट बैंक लि.को एटीएम मेसिन फोर्ने प्रयास गरेका थिए।

मेसिन फोर्नका लागि उनीहरूले सीसीटीभी क्यामरा कागजले छोपी एटीएममा ढुंगा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूलाई चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० फागुन २०७९ १८:५८ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast