 
                            
                                            काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनल मेस्सीबीच सम्झौता नवीकरणबारे छलफल भइरहेको बताइको छ। पीएसजीका रणनीतिक सल्लाहकार लुइस काम्पोसका अनुसार अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजी अझ केही वर्ष आफ्नो टिममा राख्न चाहन्छ।
अगस्ट २०२१ मा पीएसजीसँग आबद्ध भएका मेस्सी जारी सिजनको अन्त्यमा ‘फ्रि–एजेन्ट’ बन्दैछन्। त्यसबेला उनले पीएसजीसँग दुई वर्षका लागि सम्झौता गरेका थिए। यो सम्झौता सकिनुअघि नै मेस्सीलाई नवीकरणका लागि राजी गराउने प्रयास भइरहेको काम्पोसको भनाइ छ।
गत डिसेम्बरमा विश्वकप विजेता बनेका ३५ वर्षीय मेस्सीले यो सिजन पीएसजीको जर्सीमा बलियो लय देखाइरहेका छन्। उनले लिगमा १० गोल गरिसकेका छन्। गत शनिबार राति फ्रेन्च लिगमा टुलुजविरुद्ध निर्णायक गोल गरेका उनले त्यसअघि मोन्टेलियरसँगको खेलमा पनि गोल गरेका थिए।
‘हो, हामी मेस्सीसँग छलफलमा छौँ। उनले यहीँ बस्ने निर्णय गरे हामी सबै प्रशन्न हुनेछौँ,’ पीएसजीमा खेलाडी खरिद बिक्री लगायतका महत्त्वपूर्ण विषयमा निर्णय लिने गरेका काम्पोसले भने।
पीएसजीसँग हाल नेयमार र किलियान एम्बाप्पे जस्ता खेलाडी छैनन्। यी दुई खेलाडी चोटका कारण मैदान बाहिर रहेकाले टिमको अग्रपंक्तिको जिम्मा मेस्सीको काँधमा छ। फेब्रुअरी १४ मा च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बायर्न म्युनिखसँग भिड्न लागेको पीएसजी मेस्सीको लयका कारण आत्मविश्वासी देखिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 