 
                             
                                            म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ। स्थानीय सप्तऋषि युवा क्लबले रघुगंगा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो।
चालु आर्थिक वर्ष २०७९/८० मा रघुगंगाले विनियोजन गरेको १० लाख रुपैयाँ बजेटमा जनश्रमदानसमेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अंकित पुनमगरले जानकारी दिए।
‘पहिले कच्ची खेलमैदान थियो, यस पटक मैदानलाई ढलान गरी तयार गरेका हौँ, अब भलिबल र बास्केटबल खेल्न सहज भएको छ’, पुनले भने।
खेलमैदान तयार भएपछि अभ्यास गर्न सहज भएको सप्तऋषि युवा क्लबका अध्यक्ष विवश फगामीले बताए। ‘बालबालिकादेखि युवामा रहेको खेलप्रतिभाको विकास गराउन सहज भएका छ’, उनले भने।
तीस परिवारको बसोबास रहेको पात्लेखर्कमा निर्माण गरिएको खेलमैदानलाई नजिकैको जनसुन्दर आधारभूत विद्यालयले समेत प्रयोग गर्नसक्ने क्लबले जनाएको छ। खेलमैदानमा घेरबारसमेत गरिएको छ। खेलकुद प्रतियोगिता र स्थानीयस्तरमा मेला सञ्चालनका लागि स्टेज निर्माण गर्ने तयारी छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 