 फाइल तस्बिर- हिमाल प्रेस
                             फाइल तस्बिर- हिमाल प्रेस
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज (आइतबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। लामिछानेले पार्टीको ‘निर्णायक’ बैठक सकिएलगत्तै पार्टी कार्यालय बसुन्धरामा विशेष पत्रकार सम्मेलन गर्ने भएका हुन्।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म चाहन्छु सिंगो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सीधाकुरा नगरेको धेरै भएछ।’
रास्वपाको निर्णायक भनिएको बैठक आज (आइतबार) साढे ११ बजे बस्दैछ। सो बैठकले सरकारबाट बाहिरिने वा बस्ने भन्ने विषयमा निर्णय गर्नेछ।
नेकपा (माओवादी केन्द्र)ले रास्वपाका सभापति लामिछानेलाई गृह मन्त्रालयसहित सरकारमा ल्याउन नसकिने निर्णय गरेपछि शनिबार नै रास्वपाको आकस्मिक बैठक बसेको थियो। तर, उक्त बैठकले कुनै निर्णय भने गर्न सकेन। छलफल अझै बाँकी रहेकाले आज निर्णायक बैठक हुने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
पुस १० गते सत्ता गठबन्धन निर्माण हुँदा भएको सहमतिअनुसार गृह मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिइएको थियो। नागरिकता विवाद प्रकरणमा लामिछानेको पद गुमेपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले राखेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 