नेपाललाई नामिबियाले दियो २८६ रनको लक्ष्य

हिमाल प्रेस २ फागुन २०७९ १२:३६ | Tuesday, February 14, 2023
नेपाललाई नामिबियाले दियो २८६ रनको लक्ष्य फाइल तस्बिर

काठमाडौँ- माइकल भान लिन्गेनले शतक प्रहार गरेपछि नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो।

लिन्गेनले १३७ बलमा १३३ रन जोडे। जसमा पाँच छक्का र नौ चौका सम्मिलित थिए। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा ओपनर लो हान्द्रे लौरेन्स सात रनमै आउट भएपछि नामिबियाको सुरुवात कमजोर बनेको थियो।

सोमपाल कामीको बलमा लौरेन्स आउट भए भने अर्का ओपनरलाई सन्दीप लामिछानेले १३ रनमै सीमित गरिदिएका थिए।

तर लिन्गेनको आगमनसँगै नामिबियाको इनिङ्स सम्हालिएको थियो। लिन्गेनबाहेक नामिबियाका लागि उल्लेखनीय रन बनाउनेमा कप्तान जेरहार्ड इरास्मस रहे। उनले ७९ बलमा ५६ रन बटुले। मध्यक्रमका जेन ग्रिनले १९ बलमा ३४ रन बनाए। पाहुना टिमका जान निको लोफ्टी इटन आठ र जान फ्रायलिंक १३ रनमा समेटिए।

बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका करणले ६१ रन खर्चिए। त्यसैगरी सन्दीपले ६६ रन खर्च गरेर तीन विकेट हात पारे।

करण, सन्दीप, सोमपालबाहेक विकेट लिनेको सूचीमा कुशल मल्ल पनि रहे। सात ओभर बलिङ गरेका कुशलले एक विकेट हात पारे।

लिग–२ मा नेपाल र नामिबिया यसअघि चारपल्ट भिडिसकेका छन्। तीमध्ये तीन खेलमा नेपाल पराजित भएको थियो भने एक खेल रद्द भएको थियो। लिग–२ को अंक तालिकामा नामिबिया ३० खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ। नामिबियाले १८ खेलमा जित हात पारेको छ भने ११ मा हार व्यहोरेको छ।

घरेलु टिम नेपाल भने २४ खेलबाट १८ अंक जम्मा गर्दै छैटौँ स्थानमा छ। नेपालले पछिल्ला १० खेलमध्ये दुईमा मात्र दर्ता गर्न सकेको छ। लिग–२ अन्तगर्त नेपालले जारी शृंखलाका सहित १२ खेल खेल्न बाँकी छ।

नयाँ प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा पहिलो खेल खेलिरहेको नेपाल अब सबै खेल जित्दै लिग–२ को शीर्ष पाँचमा रहन चाहन्छ। ताकि एकदिवशीय मान्यता जोगियोस्।

प्रकाशित: २ फागुन २०७९ १२:३६ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast