 
                             
                                            काठमाडौँ– खानेपानीमन्त्री अब्दुल खानले नयाँ योजना सुरु गर्नुभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन निर्देशन दिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबारको भेटमा मन्त्री खानले यस्तो बताएका हुन्।
निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन नहुने मन्त्री खानको भनाइ छ। निर्माण कार्यलाई सहज बनाउन कानुनी प्रक्रिया सहज बनाउने तयारीमा सरकार जुटेको उनले जानकारी गराए।
महासंघले मन्त्री अब्दुल खानसमक्ष निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे अवगत गराउँदै ऐन कानुन अद्यावधिक गर्दा महासंघलगायतका सरोकारवाला निकायसँग आवश्यक छलफल गर्न आग्रह गरे।
निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम २० प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनु पर्ने अध्यक्ष सिंहले माग राखे। मोबिलाइजेशन पेश्की दुरुपयोग गर्नेलाई कानुनअनुसार कारबाही गर्न सकिने भन्दै अध्यक्ष सिंहले ऐनमा व्यवस्था भएको रकम नपाउँदा व्यवसायीहरू आर्थिक मारमा परेको बताए।
व्यवसायीहरूले ठूलो रकम भुक्तानी नपाउँदा निर्माण कार्य गर्न सक्ने अवस्था नरहेकोप्रति अध्यक्ष सिंहले मन्त्री खानको ध्यानाकर्षण गराए। महासंघले क्रसर उद्योग सञ्चालनमा देखिएको समस्या, धरौटी रकम फिर्ता, पाँच प्याकेजको प्रभावकारी कार्यान्वयनलगायत विषयमा लिखित धारणा मन्त्री खानसमक्ष पेश गरेको छ।
महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), महासचिव रोशन दाहालसहितको प्रतिनिधिमण्डलले मन्त्री खानको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 