जनयुद्ध दिवसमा बिदा दिएपछि गगन थापा : लहडमा सार्वजनिक बिदा दिइयो, अराजकता अति भयो

हिमाल प्रेस १ फागुन २०७९ १५:३३ | Monday, February 13, 2023
जनयुद्ध दिवसमा बिदा दिएपछि गगन थापा  : लहडमा सार्वजनिक बिदा दिइयो, अराजकता अति भयो

काठमाडौँ- जनयुद्ध दिवस भन्दै सरकारले आज सोमबार सार्वजनिक बिदा दिएपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि आपत्ति जनाएका छन्। सार्वजनिक बिदा धेरै भयो कटौती गर्नुपर्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति दिएको केही दिनपछि नै सरकारले जनयुद्ध दिवस भन्दै बिदा दिएपछि आलोचना भइरहेको छ।

महामन्त्री थापाले कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिनेक्रम सीमाहीन भएको भन्दै आपत्ति जनाएका हुन्।

‘आज फेरि बिदा! पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिनेक्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि। झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्,’ थापाले भनेका छन्, ‘यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो!’

सार्वजनिक बिदालाई निश्चित गर्न मनलाग्दी बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब दिन आग्रह गर्दै उनले कांग्रेसले यसका लागि पहलकदमी लिने पनि बताएका छन्।  ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिऊँ। यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ’ उनले भनेका छन्।

कांग्रेसका अन्य नेताहरूले पनि जनयुद्ध दिवस भन्दै बिदा दिएपछि विरोध गरिरहेका छन्।

 

प्रकाशित: १ फागुन २०७९ १५:३३ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast