 
                             
                                            कैलाली- कैलालीको टीकापुरमा रहेका छाला जुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्।
व्यवसायमा विगतभन्दा कारोबार घट्दै जान थालेपछि व्यवसायी विदेश जान थालेका हुन्। जुत्ता व्यवसायी चार जना अहिले विदेश गइसकेको उनीहरू बताउँछन्। अन्य छ जनासमेत विदेश जाने तयारीमा रहेको व्यवसायी तिलबहादुर सार्कीले बताए। यसरी जुत्ता निर्माण गर्ने व्यवसायी विदेश जान थालेपछि व्यवसाय भने महिलाले धान्न थालेका छन्।
छाला जुत्ता व्यवसायीले टीकापुरमा यो व्यवसाय थालेको कसैको तीन दशक पुग्न थाल्यो भने कोहीले दुई दशक बिताइसकेका छन्। यही पेसाबाट जीवन धानेकाहरू अहिले व्यवसाय नचलेपछि भन्ने दिक्क छन्। विगत २३ वर्षदेखि यही पेसा गरिरहेका तिलबहादुर व्यापार खासै नचलेपछि श्रीमतीलाई सीप सिकाएर विदेश जाने तयारीमा छन्।
‘लामो समयसम्म यो पेसा गरियो, विगतमा राम्रै चलेको थियो’, उनले भने, ‘अहिले पसल बन्द गरेर जान थालेको होइन, मैले जानेको सीप श्रीमतीलाई सिकाइरहेको छु। श्रीमतीले यो व्यवसाय धान्नेछिन्।’
केही वर्ष विदेशमा धन कमाइपछि पुनः यही पेसामा फर्कने योजनासहित तिलबहादुर विदेश जाने तयारीमा छन्। ‘मसहित छ जनाले विदेशका लागि कागजात बुझाएका छौँ। सबैले पसल श्रीमतीलाई सुम्पने तयारी गरेका छौँ’, उनी भन्छन्, ‘कोरोना महामारीपछि हाम्रो व्यवसाय धेरै धरापमा छ। तयारी जुत्ताले हाम्रो व्यापार खासै चलेको छैन।’
टीकापुरमा एक दर्जन बढी छाला जुत्ताका पसल छन्। यहाँ करिब ४० जनाले रोजगारी पाएका छन्। यहाँ छालाका जुत्ता हातैले बनाइन्छन्। लामो समयदेखि कच्चा पदार्थ किनेर आफैँले उत्पादन गरिने छाला जुत्ता टीकापुरको स्थानीय उत्पादित सामग्रीमा पर्दछन्।
छाला जुत्ता पसलमा अहिले महिलाहरू पनि काम गरिरहेका देखिन्छन्। टीकापुरमा रहेका एक दर्जन पसलमध्ये सातवटा पसलमा महिला काम गरिरहेका हुन्छन्। महिला त्यहाँ कामदारका रूपमा नभइ कतिपयले आफैँं पसल सम्हालिरहेका छन् भने कतिपय श्रीमान्को सहयोगीका रूपमा काम गर्छन्।
सन्तोषी नेपालीका श्रीमान्ले लामो समयदेखि छाला जुत्ता पसल गरे। यहाँको कमाइमा चित्त नबुझेपछि जुत्ता बनाउने सीप श्रीमतीलाई सिकाएर उनी हाल विदेशमा छन्। अचेल पसल उनकी श्रीमती सन्तोषीले चलाइरहेकी छन्। सन्तोषीले जुत्ता, चप्पल आफैँ बनाउनेसमेत गरेकी छन्।
‘श्रीमान्बाट मैले सीप सिकेँ, यहाँको कमाइले पुग्दैन भन्दै उहाँ विदेश जानुभयो’, सन्तोषी भन्छिन्, ‘साँझ–बिहान घरको काम गर्छु। दिउँसो पसल आफैँले चलाएकी छु। जुत्ता बनाउन पनि सिकेकी छु। पसल चलेको छ।’
पूजा नेपालीले पनि लामो समयदेखि श्रीमान्सँगै सहयोगीका रूपमा काम गरिरहेका छन्। उनले कामदार राख्नुभन्दा आफैँ काम गरौँ भनी यो सीप सिकेका छन्। पूजाका श्रीमान् मोहनलाल नेपालीलाई श्रीमती सहयोगी हुँदा सहज भएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 