समुद्रमा खसेको ‘चिनियाँ जासुस बलुन’ खोज्दै अमेरिकी सुरक्षा फौज
काठमाडौँ- ‘चिनियाँ जासुस बलुन’ का विषयमा ४० देशलाई ‘ब्रिफिङ’ गरिएको अमेरिकाले जनाएको छ। जनवरीको उत्तराद्र्धमा अमेरिकी आकाश प्रवेश गरेको भनिएको ‘चिनियाँ जासुस बलुन’ बारे अमेरिकाले वासिङटन र बेइजिङस्थित राजदूतावासबाट विदेशी कूटनीतिज्ञहरूलाई जानकारी गराएको बताइएको छ।
अमेरिकी विदेश राज्यमन्त्री वेन्डी शेरमनले सोमबार ४० देशका १ सय ५० कूटनीतिज्ञसँग भेट गरेर ‘जासुस बलुन’ बारे जानकारी गराएकी हुन्। उता बेइजिङमा अमेरिकी राजदूतले पनि सोमबार र मंगलबार चिनियाँ राजधानीमा रहेका विदेशी नियोगका कूटनीतिज्ञहरूसँग यही विषयमा छलफल गरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ।
‘जासुस बलुनबारे हामीले जे जति तथ्य फेला पारेका छौँ, त्यसबारे हाम्रा मित्र देशहरूलाई जानकारी गराउन आवश्यक थियो। किनभने ती देशहरू यस किसिमका गतिविधिका कारण सशंकित छन्,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ।
चीनले उडाएको बलुन अमेरिकी र दक्षिण अमेरिकी आकाशमा भेटिएपछि वासिङटनमा विरोध भएको थियो। जसकारण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण नै स्थगन गरे। यद्यपि चीनले ‘अमेरिकी विदेशमन्त्रीको भ्रमण मिति तय भएको थिएन’ भनेको छ। ब्लिन्केनका भ्रमण स्थगित हुनुलाई चीन-अमेरिका सम्बन्धमा समस्या उत्पन्न भएको मानिएको छ।
चीनले त्यस बुलनको उद्देश्य जासुसी गर्न नभई वैज्ञानिक शोध भएको र झुक्किएर अमेरिकी आकाशमा पुगेको जिकिर गरेको थियो। अमेरिकाले त्यस बलुनलाई खसालेकोमा पनि उसले विरोध गरेको छ।
अमेरिकाले भने विदेशी कूटनीतिज्ञहरूलाई गरेको ‘ब्रिफिङ’ मा चिनियाँ बलुन वैज्ञानिक शोधका लागि नभई जासुसी गर्नका लागि नै प्रयोग भएको दाबी गरेको छ। जनवरीको उत्तरार्द्धमा बलुन अमेरिकी आकाश प्रवेश गरेको र अमेरिकी सैन्य क्षेत्रमाथि उडेको अमेरिकी अधिकारीले जानकारी गराएको रोयटर्सले उल्लेख गरेको छ।
वासिङटनले त्यस बलुन चिनियाँ सेना (पीएलए) ले नियन्त्रणमा रहेर उडेको पनि दाबी गरेको छ।
बेइजिङस्थित अमेरिकी दूतावास पुगेका विदेशी कूटनीतिज्ञहरूलाई अमेरिकामा भेटिएको चिनियाँ बलुन सोलार प्यानलको सहयोगमा उडेकाले यो अरु बलुनभन्दा शक्तिशाली रहेको जानकारी दिइएको थियो।
‘बेइजिङमा गरिएको ब्रिफिङ, बलुन कुन संस्थाले उडाएको जानकारी चीनले नदिनु लगायतका कुरालाई मध्यनजर गर्दा बलुन गैरसैन्य रहेको भनेर पत्याउन गाह्रो छ,’ नाम नबताउने शर्तमा बेइजिङका एक रक्षाकूटनीतिज्ञले रोयटर्सलाई भनेका छन्।
बेइजिङ र वासिङटनमा गरिएका ‘ब्रिफिङ’ मा एकैखाले जानकारी दिइएको बताइएको छ। ती ‘ब्रिफिङ’ मा के पनि भनिएको छ भने, चीनले आकाशको प्रयोग गरेर विभिन्न देशको जासुसी गरिएको र बलुन त्यसकै हिस्सा हो।
हालसम्म अमेरिकाले बलुनको आकारबारे जानकारी बाहिर ल्याएको छैन। अमेरिकी सैन्य विज्ञहरू चीनले यस किसिमका बलुन सन् २०१८ बाटै जासुसीमा प्रयोग गरिरहेको र बलुन चिनियाँ निजी कम्पनीहरूले उत्पादन गर्ने दाबी गरिरहेका छन्।



