चर्को ब्याजको समस्या हल गर्न सांसदहरूको माग

हिमाल प्रेस ३ फागुन २०७९ १५:२७ | Wednesday, February 15, 2023
चर्को ब्याजको समस्या हल गर्न सांसदहरूको माग फाइल तस्बिर

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरूले बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजका कारण जनता आर्थिक र मानसिक समस्यामा परेका बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डिग लिम्बूले बैंकले चर्को ब्याज लिएर स्थानीयलाई गाउँ नै छोड्नुपर्ने अवस्था आएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

यसको समाधानका लागि सरकारले तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने उनले माग गरे। सुकुम्वासीलाई जग्गा उपलब्ध गराएर जग्गाको मालिक बनाउने काम गर्न, मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न र स्वास्थ बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न पनि उनले माग गरे।

नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सबैतिरका व्यापार व्यवसाय घाटामा रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएर नाफा कमाएको टिप्पणी गरे।

यस्तो अवस्थामा ती बैंक तथा वित्तीय संस्थाहरूलाई अध्ययन गर्ने तथा नियमन गर्ने निकायले प्रभावकारी रूपमा काम गर्नुपर्ने उनको भनाइ छ। कुनै वित्तीय संस्थामा सुरुमा नौ प्रतिशत ब्याजमा ऋण पाइने भए पनि तिर्ने बेलामा १३/१४ प्रतिशत पुग्ने गरेकाले साना र मझौला ऋणीहरू गम्भीर समस्यामा परेको उनले बताए।

एमालेका सांसद ठाकुर गैरेले प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल विषय विज्ञ चिकित्सकसहितको उचित स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरे। उनले बाँदर र अन्य वन्यजन्तुले पाकेको बाली मासेर किसानलाई दुःख दिएको सम्बन्धमा तत्काल सरकारले उचित पहल गर्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले जनताले मतदानका समयमा राखेका आशा र भरोसाअनुसार नै जनप्रतिधिले काम गर्नुपर्ने उल्लेख गरे। नेपाली कांग्रेसका रामनाथ अधिकारीले गोँगबुमा भएको चोरी र लुटपाटको घटनाका सम्बन्धमा यथार्थ जानकारीका लागि सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे। साथै उनले घटनाका दोषीलाई कारबाही गर्न माग गरे।

बूढीगण्डकी जलाशययुक्त आयोजनामा मुआब्जामा देखिएका समस्या हल गर्न र आयोजनाका कारण विस्थापित हुने स्थानीयको उचित पुनःस्थापना गर्न उनले माग गरे।

एमालेका सांसद हेमराज राईले शून्य समय र विशेष समयमा उठेका विषयमा अविलम्ब सरकारले जवाफ दिएर जनतालाई राहत दिनुपर्ने बताए। नेपाली कांग्रेसका कान्तिका सेजुवालले सबै हवाई इन्धनको मूल्य बढ्दै जाँदा दुर्गमका नागरिकले सास्ती भोग्नुपरेको बताउँदै हवाई इन्धनको मूल्य घटाउन माग गरे।

एमालेका सांसद दामोदर पौडेल बैरागीले कास्कीमा रहेका पर्यटकीय क्षेत्रहरूको उचित प्रचारप्रसारमा ध्यान नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पोखरामा नयाँ विमानस्थल सञ्चालनपछि स्थगित भएको प्याराग्लाडिङ सञ्चालनको व्यवस्था गर्न माग गरे। नेपाली कांग्रेसका शान्ति विकले राज्यले हुनेखाने वर्गका लागि मात्र नभई हुँदा खाने वर्गका लागि पनि अनुभूत हुने गरी काम गर्नुपर्ने बताइन्।-राससको सहयोगमा

प्रकाशित: ३ फागुन २०७९ १५:२७ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast