ग्वार्डिओला भन्छन् : विपक्षी गोलरक्षकको एक मिटरअघि बल पाउँदा पनि गोल भएन

हिमाल प्रेस ७ फागुन २०७९ १०:३४ | Sunday, February 19, 2023
ग्वार्डिओला भन्छन् : विपक्षी गोलरक्षकको एक मिटरअघि बल पाउँदा पनि गोल भएन

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबारका खेलबाट आएका नतिजापछि शीर्ष दुईमा रहेका आर्सनल र म्यानचेस्टर सिटीबीचको दूरी दुई अंक कायम भएको छ। सिटीले नटिङहम फरेस्टलाई हराएको भए पहिलो र दोस्रो स्थानका दुई टिमबीच अंक बराबर हुने थियाे। हाल आर्सनलको २३ खेलबाट ५४ र सिटीको २४ खेलबाट ५२ अंक छ।

सिटीलाई फरेस्टले १–१ को बराबरीमा रोकेको थियो। आर्सनलले भने त्यसअघि नै एस्टन भिल्लालाई ४–२ ले हराइसकेको थियो।

पहिलो हाफको ४१ औँ मिनेटमा बर्नादो सिल्भाको गोलबाट अघि बढेको सिटीविरुद्ध फरेस्टका क्रिस उडले गोल गरेका थिए। ८४ औँ मिनेटमा खानु र त्यसअघि पाएका मौकामा गोल गर्न नसक्नुले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई आक्रोशित बनायाे।

‘हामी आफ्नै गल्तीले पछि परेका हौँ। प्रदर्शन राम्रो भए पनि गोल गर्न चुक्यौँ। गोल नै गर्न नसकेपछि खेल जित्ने कुरै आएन। हामीले पहिलो हाफमै ३–० को अग्रता लिनु पर्ने थियो। तर गोलका अवसर लगातार खेल फालिए। फरेस्टले एउटा मौका पायो, गोल गर्‍यो। यो नतिजाले म निराश छु। आक्रोशित छु,’ ग्वार्डिओलाले खेलपछि भने।

विपक्षी गोलरक्षकभन्दा एक मिटरअघि बल पाउँदा पनि आफ्ना खेलाडीले गोल गर्न नसकेको ग्वार्डिओलाको भनाइ थियो। ‘यस्ता मौका त एक होइन कयौँ खेर गए। यही कारण हो हामीले आज नजितेको। अब म के भनौँ?’ ग्वार्डिओलाको प्रश्न थियो।

प्रिमियर लिगका आधाभन्दा बढी खेल सकिँदा उपाधि दौड थप प्रतिस्पर्धात्मक बन्दै गइरहेको छ। दुई साताअघि एभरटनसँग हारेको आर्सनललाई सिटीले गत बुधबार ३–१ ले पराजित गरेको थियो। बीचमा तुलानात्मक रुपमा कमजोर देखिएको आर्सनललाई उछिन्ने सक्ने विश्वास सिटीमा थियो। तर १३ औँ स्थानको फरेस्टसँग रोकिएपछि ग्वार्डिओला आफ्ना खेलाडीसँग आक्रोशित देखिएका हुन्।

खेलकै बीचमा पनि ग्वार्डिओलाले खेलाडी र रेफ्रीप्रति आक्रोश पोखेका थिए। त्यही भएर दोस्रो हाफमा उनले पहेलो कार्ड पनि पाए। फरेस्टका जो वोरालले एर्लिङ हालान्डलाई लडाउँदा फउल नदिएको भन्दै ग्वार्डिओला रेफ्री ग्राहम स्कटमाथि खनिएका थिए।

‘हालान्ड गोल गर्नसक्ने परिस्थितिमा थिए। उनी गोलरक्षकको अघि पुगिसकेका थिए। तर त्यहीबीचमा उनीमाथि फउल गरियो,’ ग्वार्डिओलाले भने, ‘म चौथो अफिसियलसँग गुनासो पोखिरहेको थिए। त्यसपछि मलाई कार्ड दिइयो। सायद म त्यसको हकमदर थिए।’

ग्वार्डिओलाले प्रिमियर लिगका रेफ्रीबारे बारम्बार गुनासो गर्दै आइरहेका छन्। ‘यहाँ जे जे भइरहेको छ, त्यसबारे म धेरै कुरा बोल्नसक्छु। तर म गुनासो गरिरहने मान्छे होइन। किनभने रेफ्रीका गतिविधिमाथि म नियन्त्रण गर्न सक्दिनँ। यसकारण चुप बसेकै राम्रो,’ ग्वार्डिओलाले भने।

प्रकाशित: ७ फागुन २०७९ १०:३४ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast