 
                             
                                            पर्वत- लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेको छ। करिब ५ महिनासम्म वर्षा नहुँदा किसानले लगाएको आलु, गहुँ, जौँ, तोरीलगायत हिउँदे बाली प्रभावित बनेको हो। पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ। तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरूको गुनासो छ।
व्यावसायिक तरकारी खेती गरिरहेका किसान पनि खडेरीका कारण उत्पादन कम हुने भन्दै चिन्तित बनेका छन्। धेरै वर्षपछि यति लामो खडेरी परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए। खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए।
गत असोज अन्तिम सातायता यहाँ वर्षा भएको छैन । जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार हिउँदे बालीमा खडेरीको असर परेको छ। सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन्। ‘बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ’ उनले भनिन्, ‘त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुन्छ।’
पर्वतमा आकासे पानीकाे भरमै खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रूपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरूले ठूलो नोक्सानी व्यहोर्नु परेको थापाको भनाइ छ। तेलहन बालीको उत्पादन मात्रै ३० प्रतिशतले घट्ने थापाको अनुमान छ।
लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषकहरू मारमा परेका छन्। उनका अनुसार जिल्लाको पातिचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीको असर छ।
यहाँका कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली सुकेको छ। अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकहरूको गुनासो छ।
जिल्लामा करिब आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगे पनि खोला सुकेका कारण सिँचाइ नहरमासमेत पानी बग्न सकेकाे छैन। खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शंकरपोखरीका कृषक कुलप्रसाद तिवारीले बताए। ‘मकै, चैतेधान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्या भएको छ’ उनले भने।
यहाँ पिउने पानीका मुहानहरू पनि सुक्न थालेका छन्। यो महिनाभरिमा वर्षा नभएमा मकै खेती र लहरेबालीकाे उत्पादनमा पनि कमी हुने कृषि ज्ञान केन्द्रको भनाइ छ। खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्र प्रमुख थापाको अनुमान छ। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 