 सांकेतिक तस्बिर
                             सांकेतिक तस्बिर
                                            म्याग्दी- म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ।
मंगला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको एक करोड रुपैयाँ लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो।
आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गरे।
आर्थिक वर्ष २०७५/०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरूपमा शुभारम्भ गरिएको हो । उद्यानमा संग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ।
गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए। ‘बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रुपमा उद्यान बनाएका हौँ, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ’, उनले भने ।
उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ। शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ। स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि संग्रहालयसमेत स्थापना गरिएको छ।
उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। त्यसैगरी थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले एक लाख रुपैयाँ र मंगला युवा क्लबले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरे थिए।
आइतबार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो। बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात् उद्यानमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मंगला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 