अलैँचीले बदल्दै आर्थिक अवस्था

हिमाल प्रेस ४ फागुन २०७९ २१:२५ | Thursday, February 16, 2023
अलैँचीले बदल्दै आर्थिक अवस्था

लमजुङ- कालो सुनको रूपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकास्न मद्दत गरेको छ। करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षयता अलैँची खेतीले राम्रो आम्दानी दिन थालेको छ। पछिल्लो समय अधिकांश किसानको आर्थिक अवस्था सुधारमा अलैँचीले मद्दत गरेको छ।

मनाङसँग सिमाना जोडिएको लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङले अलैँचीबाट राम्रो आम्दानी हुने बताए। अहिले उनको दिनचर्या अलैँची बारीमै बित्ने गरेको छ। अलैँची खेती थालेपछि आर्थिक रूपले सम्पन्न बनेका उनले अहिले केही जनालाई रोजगारी दिलाउन सक्ने हैसियतमा पुगेको बताए।

अलैँची किसान तामाङ गाउँगाउँमा सुरु भएको अलैँची खेतीको लहरसँगै १५ वर्षअघि परिवारसहित गाउँ फर्किएका थिए। एक रोपनी जग्गाबाट सुरु भएको अलैँची खेती यतिबेला ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। सोही छिनखोलामा पाँच रोपनी र ताराचोक शेरामा ५० रोपनी क्षेत्रफलमा अलैँची नर्सरी स्थापना गरेर उनले अलैँची बिरुवा पनि बेच्छन्। उनले अलैँची दाना र बिरुवा बिक्री गरी वार्षिक १० देखि १५ लाख रुपैयाँ आम्दानी हुने गरेको बताए।

सोही वडास्थित लुदीका सोमबहादुर तामाङ पनि अलैँची किसान हुन्। उनले मलेसियामा १५ वर्ष श्रम बेचे। तर आर्थिक हैसियत बदलिएन। यतिबेला सोमबहादुरले ६० रोपनी क्षेत्रफल जमीनमा लगाएको अलैँची बिक्रीबाट वार्षिक ५ देखि ५ लाख आम्दानी गर्दै आएको बताए।

धान, मकैभन्दा अलैँची खेतीले राम्रो आम्दानी हुने गरेको र परिवारको गुजारा चलाउन सहज भएको उनको भनाइ छ। उनका अनुसार लुदीका ४२ घरधुरीले बारापोखरी कृषक समूह दर्ता गरी एक हजार पाँच सय रोपनीमा अलैँची खेती सुरु गरेका छन्। पहिलो पटक यस वर्ष १० क्विन्टल अलैँची दानासमेत उत्पादन गरिएको उनले बताए। कम मेहेनतमै राम्रो आम्दानी दिने भएकाले यहाँका किसान अलैँचीप्रति केन्द्रित भएका उनको भनाइ छ।

छिनखोलाकै बलराम लामाले विदेशबाट फर्किएरै अलैँची खेती थालेका थिए। अहिले उनी एक सफल अलैँची कृषक बनेका छन्। उनले पनि वार्षिक करिब ५ लाख रुपैयाँको अलैँची बिक्री गर्दै आएको बताए। अलैँची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र नभएर भाग्य नै बदलिदिएको यहाँका किसान बताउँछन्।

पछिल्लो समय जिल्लाका अधिकांश किसान अलैँची खेतीतर्फ आकर्षित छन्। जिल्लामा हाल १ हजार ५ सय हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती हुँदै आएको छ। गतवर्ष यहाँ ३५ मेट्रिक टन अलैँची दाना उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांक छ। यहाँको मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथार गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकामा बढी अलैँची खेती हुने गरेको छ। राससको सहयोगमा

प्रकाशित: ४ फागुन २०७९ २१:२५ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast