सांकेतिक तस्बिर
काठमाडौँ- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण स्थगन गरेको बताएका छन्। अमेरिकी तथा दक्षिण अमेरिकी आकाशमा चिनियाँ ‘जासुस बलुन’ उडिरहेको भेटिएपछि प्रतिक्रिया स्वरुप ब्लिन्केनले भ्रमण अर्को मितिका लागि सारेका हुन्।
ब्लिन्केन शुक्रबार राति बेइजिङ जाने र त्यहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तालिका थियो। यो भ्रमणलाई अमेरिकी राष्ट्रपति जो बाइडनको सम्भावित चीन भ्रमणको तयारी मानिँदै थियो। यद्यपि ब्लिन्केन भ्रमणको औपचारिक जानकारी अमेरिका र चीन दुवैले दिएका थिएनन्।
अमेरिकी समाचार एजेन्सी एपीका अनुसार शुक्रबार कान्सास र मिसुरीका आकाशमाथि ‘जासुस बलुन’ उडिरहेको भेटिएको हो। ‘जासुस बलुन’ १८ हजार फिटभन्दा माथि उडिरहेको बताइएको छ।
अमेरिकाकै अर्को राज्य मोन्टानामाथि पनि ‘जासुस बलुन’ देखिएको थियो। मोन्टाना आणविक मिसाइल राखिएको स्थान हो जसलाई माल्मस्टोर्म एयर फोर्स बेसले सुरक्षा प्रदान गर्छ।
शुक्रबार राति अमेरिकी रक्षा मन्त्रालयले दोस्रो ‘जासुस बलुन’ दक्षिण अमेरिकी आकाशमाथि उडिरहेको दाबी गरेको छ। ‘हामीले अर्को बलुन पनि भेटेका छौँ। यो दक्षिण अमेरिकी आकाशमाथि उडिरहेकोे छ,’ ब्रिगेडियर जनरल पाट राइडरले निकालेको विज्ञप्तीमा भनिएको छ। यद्यपि यो बलुन ठ्याक्कै कहाँ देखियो भन्नेबारे केही खुलाइएको छैन।
अमेरिकाले के दाबी गरेको छ भने यस्ता बलुन गत मंगलबार नै देखा परेका थिए। यसबारे राष्ट्रपति बाइडनलाई त्यतिबेलै जानकारी गराइएको एपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
त्यस्तो जानकारी पाएपछि बाइडनले ‘जासुस बलुन’ झार्न आदेश दिएका थिए। जसका लागि युद्धक विमानसमेत तयार पारिएको थियो। तर अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र सेना प्रमुख मार्क मिल्लीले त्यसो गर्न नहुने सुझाव दिएपछि बाइडनले आदेश फिर्ता लिएको एपीको दाबी छ।
एउटा साधारण स्कुल बसभन्दा तीन गुण ठूलो ‘जासुस बलुन’ लाई झार्दा खतरा हुनसक्ने भनाइ रक्षामन्त्री र सेना प्रमुखले आन्तरिक बैठकमा राखेकाे बताइकाे छ।
उता चीनले भने बलुन जासुसी गर्न नभई वैज्ञानिक शोधका लागि उडाइएको बताएको छ। अमेरिकी आकाशमा बलुन उडाउने कुनै योजना नभएको र बतासका कारण त्यता पुगेको हुनसक्ने चीनको जिकिर छ।
‘बलुन चीनकै हो। तर यो नितान्त गैरसैन्य प्रयोगका लागि उडाइएको हो। वैज्ञानिक तथा मौसम अध्ययन गर्ने यसको मुख्य उद्देश्य हो। पश्चिमी दिशाबाट चलेको बतासका कारण यो आफ्नो रुटभन्दा अर्को बाटो लागेको हो। यसो भएकोमा चीन दुःखी छ। नसोचेको परिस्थिति उत्पन्न भएको छ, यसलाई हल गर्न चीन अमेरिकासँग सम्वादमा रहनेछ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ।
अमेरिकी विज्ञहरुले पनि चीनले दाबी गरेजस्तै बतासका कारण बलुनले आफ्नो बाटो गुमाएको हुनसक्ने बताएका छन्।
एपीका अनुसार ब्लिन्केनले चिनियाँ विपक्षी वाङ यीलाई टेलिफोन गरी आफूले बइजिङ भ्रमण स्थगित गरेको जानकारी गराएका छन्। बलुनका विषयमा पनि ब्लिन्केनले वाङसमक्ष ‘चीनले गैरजिम्मेवार कार्य गरेको’ बताएको एपीको रिपोर्टमा उल्लेख छ।
चिनियाँ विदेश मन्त्रालयले शनिबार बिहान एक विज्ञप्ती जारी गर्दै ब्लिन्केनको बेइजिङ भ्रमणको औपचारिक मिति तय नै नभएको बताएको छ। ‘अमेरिकाले भ्रमणका विषयमा गरेको घोषणा उसको आफ्नो निर्णय हो। त्यसलाई हामी सम्मान गछौँ,’ चीनले भनेको छ।



