 
                             
                                            काठमाडौँ– अक्षरा स्कुलले एकदिने बाल साहित्यिक महोत्सव सम्पन्न गरेको छ। बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले काठमाडौँको अक्षरा स्कुललले आइतबार ‘दोस्रो अक्षरा बाल साहित्य महोत्सव’आयोजना गरेको हो।
दुई सत्रमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकले लेखकसँग साहित्य संवाद कार्यक्रमअन्तर्गत आफ्ना जिज्ञासा राखेका छन्।
विद्यार्थीमा पठनशैलीको विकास गर्ने उद्देश्यले विद्यालयमा यस्तो कार्यक्रमको आयोजना गरेको बताउँदै अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराईले विद्यार्थी र अभिभावकमा साहित्यप्रतिको रुचि बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताइन्।
‘अध्ययनको संस्कार विकास होस् भन्ने चाहनाले विद्यार्थी र अभिभावकसँग साहित्यिक महोत्सव आयोजना गरेका हौँ। जीवनमा साहित्यको महत्व, साहित्य प्रति रुची जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने भन्ने प्रमुख उद्देश्य हो,’ उनले भनिन्।
कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले स-साना कुरालाई बुँदागत रूपमा लेख्ने बानीको विकास गर्न सकियो भने आफै सृजना गर्न सकिने बताए। उनले भने,‘अक्षर शब्द सानैदेखि सुन्दै आएपनि अक्षरा नाम सुनेको थिइन। विद्यालयलको नाम राम्रो लाग्यो। साहित्यमा शब्दको जति गहिराईमा जानसक्यो त्यतिनै गहिराइमा पुग्न सकिन्छ।’
साहित्यकार तथा लेखक नीलम कार्की निहारिकाले पाठ्यपुस्तकभन्दा बाहिरको पुस्तक पनि पढ्नुपर्छ भन्ने चेतना अभिभावकमा आउन थालेको बताइन्। ‘विकसित देशमा अनलाइन प्रविधिको सबै सुविधा भए पनि पुस्तक पढ्ने बानी छ,उनले भने, ‘असर संस्कार असल पुस्तकले दिन्छ।’
विभिन्न विद्यालयका विद्यार्थीले बाल साहित्य महोत्सवको अवलोकन गरेका छन्। अक्षरा बाल साहित्य महोत्सव कलाकार मदनकृष्ण श्रेष्ठ, चर्चित साहित्यकार बुद्धिसागर, नीलम कार्की निहारिकालगायत साहित्यकारको सहभागिता रहेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 