काठमाडौँ- नेकपा एमालेको विद्यार्थी भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) अध्यक्षमा आरसी लामिछानेले दाबी गरेका छन्। लामिछाने संगठनका वरिष्ठ उपाध्यक्ष हुन्।
उनले अघिल्लो महाधिवेशनमै अध्यक्षको दाबी गरेका थिए। तर तत्कालीन उपाध्यक्ष सुनिता बराल अघि सरेपछि उनले छाडेका थिए। ‘एकजना महिला नेत्रृ अघि बढ्न खोज्दा बाटो छोडिदिएँ’, लामिछाने भन्छन्, ‘पार्टी नेतृत्वले पनि महिलालाई छाड्न आग्रह गर्यो। मैले खुसीसाथ उहाँलाई छाडेँ। अब त कसैलाई छाड्ने पक्षमा छैन।’
विद्यार्थीका एजेन्डा बुझेको दाबी गर्दै उनले ‘जुनसुकै परिस्थितिमा पनि अध्यक्ष बन्ने’ तयारीमा रहेको बताए। ‘म व्यक्तिगत जीवनको लाभहानि केही नहेरी संगठनमा लागेको व्यक्ति हुँ। लाभको पदसमेत कहिल्यै चाहिनँ’, लामिछाने भन्छन्, ‘कमिटीभित्रका शतप्रतिशत विद्यार्थी म अध्यक्ष भएको हेर्न आतुर छन्। पार्टी नेतृत्वले पनि चाहेको पात्र हुँ।’
लामिछाने विद्यार्थी राजनीतिमा खारिएका व्यक्ति हुन्। उनीसँगै विद्यार्थी राजनीतिमा लागेका कतिपयले राजनीति छाडिसकेका छन्। केहीचाहिँ पार्टीको उपल्लो जिम्मेवारीमा पुगेका छन्। तर उनी निरन्तर ‘विद्यार्थी आन्दोलन’मा छन्।
लामिछाने २२ औँ महाधिवेशनमा अध्यक्ष बन्ने तयारी थिए। त्यति बेला पाएनन्। यसपटकको आयोजक कमिटीको संयोजक पनि उनी छैनन्। तर उनी यसप्रति आफ्नो अपेक्षा नरहेको बताउँन्। अनेरास्ववियुको २३ औँ महाअधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा तोकिएको छ।
लामिछानेका योजना
लामिछाने शैक्षिक मुद्दालाई स्थापित गर्ने पक्षमा छन्। अखिललाई आशा, भरोसा र समयसापेक्ष बनाउने योजना रहेको उनले बताए। आफ्नो योजना शैक्षिक केन्द्रित राजनीति र विद्यार्थी केन्द्रित मुद्दा रहेको उनको भनाइ छ।
‘विद्यार्थीहरू शैक्षिक मुद्दाबाट भाग्न थाले। यो समस्या हो। म आफैँ यसलाई पुनर्स्थापित गर्न चाहन्छु’, उनी भन्छन्, ‘शैक्षिक सत्रहरू अनिश्चित छन्। विश्वविद्यालय त राजनीतिले थिलथिलो भएका छन्।’
गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, विद्यार्थीलाई सहुलियत र छुटका लागि आवाज उठाउने, शैक्षिक माफियाविरुद्ध लड्ने योजना लामिछानेको छ। शिक्षाको आमूल परिवर्तनका लागि आफू अध्यक्ष बन्न चाहेको उनी बताउँछन्।
उनी समकालीन विद्यार्थीभन्दा आफू अब्बल भएको दाबी गर्छन्। अहिलेको पदाधिकारीबाटै कोही प्रतिस्पर्धा गर्न आए ‘लज्जास्पद हार खाने’ लामिछानेको दाबी छ। उनी नयाँ पुस्ताले चुनौती दिएमा छाड्ने तर ‘कसैले आफूविरुद्ध उम्मेदवारी दिन लगाए चुनौती दिने’ पक्षमा छन्।
‘मविरुद्ध कसैलाई अघि सार्नु भनेको गुटबन्दी गराउने हथकण्डाका लागि हो भन्ने बुझ्नुपर्छ। म नै स्वाभाविक वेटिङ लिडर हुँ,’ लामिछाने भन्छन्, ‘मविरुद्ध कसैलाई सिंगार्नु भनेको विद्यार्थी आन्दोलनलाई कमजोर बनाउनु हो।’
आफू सधैँ संघर्ष र आन्दोलनको पक्षबाट नेतृत्वमा आएको उनको बुझाइ छ। ‘म सधैँ संघर्षबाट आएँ। मेरो सहयोद्धा साथीहरू त अवसरको खोजीमा जानुभयो। अरू साथी त लाभको पदमा रहेका र पोल्टामा दूधभात परेका छन्।’
सांगठनिक विगत
गोरखामा जन्मिएका लामिछाने बाल्यकालबाटै राजनीतिमा संलग्न भएका हुन्। उनी संगठनको सदस्य, विद्यालय कमिटीको अध्यक्ष हुँदै जिल्लाको नेतृत्वसम्म पुगेका थिए।
‘विद्यार्थी राजनीति गर्दा अनेक दुःख भोगियो। रातोमाटोले भित्ताभित्तामा एमालेका पक्षमा लेख्दा विपक्षी कार्यकर्ताको कुटाइ पनि खाएँ’, उनी भन्छन्, ‘त्यही कारण म मा प्रतिरोधी चेतना आयो। त्यसपछि विद्यालयस्तरमा संगठन विस्तारमा लागेँ।’
एसएलसीपछि काठमाडौँ भित्रिएका उनी सरस्वती क्याम्पसमा भर्ना भए। त्यहाँ रहँदा पनि लामिछाने राजनीतिमा उत्तिकै सक्रिय भए। त्यसपछि आरआर क्याम्पस आएर पनि विद्यार्थी राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ। उनी संगठनको भएर केन्द्रीय सदस्य, सचिव र वरिष्ठ उपाध्यक्ष भइसकेका छन्।