गण्डकीका गृहमन्त्रीले गरे पदभार ग्रहण, यथाशीघ्र कानुन निर्माण गर्ने पहिलो निर्णय

हिमाल प्रेस ११ माघ २०७९ १२:०५
4
SHARES
गण्डकीका गृहमन्त्रीले गरे पदभार ग्रहण, यथाशीघ्र कानुन निर्माण गर्ने पहिलो निर्णय

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहाले बुधबार पदभार ग्रहण गरेका छन्।
उनले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने सम्बन्धित विषयमा कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा तर्जुमा प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

जसअनुसार उनले शान्तिसुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान व्यूरो लगायतका कार्य जिम्मेवारीसँग सम्बन्धित विषयमा निर्माण गर्न आवश्यक कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा तर्जुमा प्रक्रिया छिटो अगाडि बढाउने पहिलो निर्णय गरेका हुन्। आन्तरिक मामिला मन्त्रीले गृहमन्त्रीको जिम्मेवारी बहन गर्ने प्रावधान छ।

पदभार ग्रहणपछि उनले मन्त्रालय परिसरमा फूलको बिरुवा रोपेका छन्। गण्डकीमा अर्थमन्त्री बनाउने भनिए पनि उनलाई मन्त्रालय फेरेर गृह मन्त्रालयको जिम्मेवारी दिइएको गुनासो छ। पदभार ग्रहण कार्यक्रममा उनले यसबारेमा भने मुख खोलेनन्।

नवलपुरबाट निर्वाचित मन्त्री गाहा २०७४ सालमा पनि चुनाव जितेर सांसद बनेका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू नियुक्त भएको दुई सातापछि मंगलबारमात्र मन्त्रालयको कार्यविभाजनसहित मन्त्रिमण्डललाई पूर्णता दिलाएका हुन्।

सत्ता गठबन्धनअन्तर्गत एमाले ४, माओवादी केन्द्र २ र राप्रपा १ मन्त्री लिने गरी भागबण्डा लगाइएको हो।
जसअनुसार पहिलो वरीयतामा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सुम्पिएको छ।

यस्तै, एमालेकी सीताकुमारी सुन्दासलाई आर्थिक मामिला, एमालेकै वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन्। माओवादीका रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाए भने राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका हुन्।

उनीहरूलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारीको उपस्थितिमा १६८ (९) बमोजिम कार्यविभाजन गरी पद तथा गोपनीयताको सपथ खुवाएका छन्।

प्रकाशित: ११ माघ २०७९ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =