काठमाडौँ- कुनै बेला सुन्दरीजल-साँखुको बाटो हुँदै गोराहरूको ताँती हेलम्बु पुग्थ्यो। सडक पूर्वाधारको विकास नभए पनि पदयात्रामार्फत पुग्ने विदेशी पर्यटकका कारण सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा चहलपहल हुन्थ्यो। पर्यटकहरू पहाडी सौन्दर्यमा रमाउँथे। फर्कन्थे।
५० को दशकपछि सडक पूर्वाधार निर्माणसँगै हेलम्बु क्षेत्र सहरसँग जोडिन थाल्यो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना बन्न थालेपछि विकास निर्माण त भित्रियो, मौलिक पहिचानचाहिँ बिस्तारै हराउन थाल्यो। पदयात्रामार्फत जाने पर्यटकमा कमी आयो।
इतिहासदेखि नै हेलम्बुको पहिचान गौरवशाली थियो भन्ने कुरा शाहवंशीय तत्कालीन राजा रणबहादुरकी जेठी महारानी राजराजेश्वरी सो ठाउँमा निर्वासनमा गएको घटनाले पुष्टि गर्दछ।
कालान्तरमा ‘हेलम्बुको स्याउ’ गीतको अंशमा सीमित भयो भने ‘ग्लोबल वार्मिङ’ का कारण हिमालमा हिउँ देखिन छाड्यो। यति मात्रै होइन, ह्योल्मो संस्कृति र सभ्यता पनि बिस्तारै विस्थापित हुन थाल्यो।
२०७४ पछि भने हेलम्बुको पहिचान फरक तरिकाले स्थापना गर्ने योजना अघि सारिएको छ। त्यो हो, ‘हेलम्बु ग्रेट ट्रेल’ को निर्माण। ६० किलोमिटर लामो निर्माणाधीन ग्रेट ट्रेलले पर्यटक आकर्षित हुने र त्यहाँको आर्थिक क्षेत्रले फड्को मार्ने विश्वास गाउँपालिकाको छ।
ट्रेल निर्माणपछि हेलम्बुमा वर्षमा कम्तीमा १० लाख आन्तरिक पर्यटक भित्र्याउने योजना गाउँपालिकाको छ। ट्रेल निर्माणका लागि गाउँपालिकासहित प्रदेश र संघले पनि बजेट छुट्ट्याएका छन्।
तीन तहबाट बजेट छुट्ट्याएर काम गर्दा पनि ट्रेल निर्माणमा ढिलाइ भइरहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन्। चार अर्ब रुपैयाँको योजनामा बजेट जुटाउन कठिन भइहरहेको गुनासो उनको छ। गाउँपालिकाले ट्रेल निर्माणका लागि नौ करोड रुपैयाँ खर्च गरिसकेको छ। यस क्रममा तीन किलोमिटर ट्रेल निर्माण सम्पन्न भएको छ। सरकारले आवश्यक बजेट उपलब्ध गराएमा दुई वर्षभित्रै ग्रेट ट्रेल निर्माण गर्न गाउँपालिका अध्यक्ष शेर्पा तयार छन्।
अध्यक्ष शेर्पा भन्छन्, ‘संघ र प्रदेशले छुट्टै टेन्डर गरेका छन्। हामीसँग त्यति धेरै पैसा छैन।’ उनी कसैले चार अर्ब रुपैयाँ दिएमा दुई वर्षभित्र ट्रेल निर्माण सम्पन्न गर्ने बताउँछन्। ‘मलाई लौ अध्यक्षज्यू, तपाईँले दुई वर्षभित्र काम सकाउनुपर्छ, चार अर्ब बजेट दिन्छु भनेर कुनै निकायले भन्छ भने मसँग त्यति अवधिमा आयोजना सम्पन्न गर्ने योजना छ’, शेर्पाले हिमाल प्रेससँग भने।
दुईदुई किलोमिटरका दरले ३० वटा टेन्डर निकाल्ने हो भने एउटा ठेकेदारले दुई वर्षमा दुई किलोमिटर ट्रेल तयार पार्न सक्ने शेर्पा बताउँछन्। ट्रेल निर्माणमा गाउँपालिकाले वर्षमा एक करोडभन्दा बढी खर्च गर्न सक्ने अवस्था छैन। गाउँपालिकाको बजेट शिक्षा, स्वास्थ्य, बाटोघाटो निर्माणमै सकिने शेर्पाको भनाइ छ।
संघीय सरकारले बहुवर्षीय आयोजनाका रूपमा पारेर वार्षिक कम्तीमा ५० करोड रुपैयाँ बजेट विनियोजन गर्ने हो भने ट्रेल निर्माण अलिक चाँडो सकिने उनको विश्वास छ। यसका लागि आफूले संघीय सरकारसँग पहल गरिरहेको अध्यक्ष शेर्पाले बताए।
धेरैले ट्रेल हेलम्बुका लागि मात्रै भन्ने बुझेको शेर्पा बताउँछन्। योजना बन्यो भने देशको पर्यटन क्षेत्रमा निकै फाइदा हुने उनको विश्वास छ। सडक पिच भएमा राजधानीबाट अढाई तीन घण्टामा पुग्न सकिने हेलम्बुमा वर्षमा १० लाख पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ। यसपछि आर्थिक रूपमा हेलम्बु सम्पन्न हुने सपना शेर्पाले देखेका छन्। उनी भन्छन्, ‘वर्षमा १० लाख पर्यटक हेलम्बु ल्याउन सकियो भने यो भेगको कायापलट हुनेछ।’
सुरुमा पत्याएनन् गाउँलेले
गाउँपालिका अध्यक्ष शेर्पाले अघिल्लो कार्यकालमा ट्रेल निर्माणको अवधारणा अघि सार्दा धेरैले पत्याएनन्। बजेट धेरै लाग्ने भएकाले गाउँलेले विश्वास नगरेको उनी स्मरण गर्छन्।
उनी भन्छन्, ‘मैले योजना अघि बढाउँदा केही साथीहरूले पत्याएका थिएनन्। यति ठूलो योजना अघि सार्दा गाउँपालिका अध्यक्ष बहुलायो कि क्यो हो पनि भने।’ नभनून् पनि किन? हेलम्बु गाउँपालिकाको पाँच वर्षको बजेट करिब एक अर्ब रुपैयाँ छ।
पैसा छैन भनेर योजना सुरु नगर्ने हो भने परिवर्तन कहिल्यै नहुने ठानेर आफूले महत्त्वाकांक्षी योजना अघि सारेको शेर्पा बताउँछन्। अहिले प्रदेश सरकार र संघीय सरकार दुवैले सहयोग गर्न थालेपछि शेर्पा हौसिएका छन्। निर्माणाधीन ट्रेलले पाकीडाँडा, गोसाइँकुण्डको नजिकै, भिमाथाङ, ढुक्पु, आमा याङ्ग्री, सेर्माथान हुँदै बुद्धपार्कसम्म समेट्छ। ट्रेल बनाउन स्थानीय ढुंगाको प्रयोग गरिएको छ।
अब योजना ढिलोचाँडो सकिनेमा शेर्पा ढुक्क छन्। उनले भने, ‘कम्तीमा चीनको ग्रेटवालपछिको स्ट्यान्डर्डको ट्रेल नेपालमा हुनेछ। यसले देशको पहिचान पनि बढ्छ। यही सोचेर योजना अगाडि बढाइएको हो।’
ट्रेलबाट हिमाली शृंखला, लेकाली बस्ती, दर्जनौँ गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ। समुद्री सतहबाट २४०० देखि ५००० मिटर उचाइसम्म फैलने ट्रेल हिँडेर पूरै छिचोल्न नौ दिन लाग्ने अनुमान छ। यसरी हिँड्दा तामाङ, ह्योल्मो, गुरुङलगायत जातजातिको संस्कृति अवलोकन गर्न सकिन्छ। ‘माउन्टेन फ्लाइट’ बाट देखिने मध्य तथा पूर्वी क्षेत्रका हिमालमध्ये ८० प्रतिशत ट्रेलबाट देखिनेछ। ट्रेलमै पर्ने पाके डाँडाबाट सगरमाथासमेत देखिन्छ। ट्रेलको सेमिसिधाङबाट गोसाइँकुण्ड मात्र एक किलोमिटरको दुरीमा छ।
मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान पनि हेलम्बुमै पर्छ। जुन काठमाडौँको जोरपाटीदेखि साँखु हुँदै ५५ किलोमिटर र सुन्दरीजल हुँदै ५० किलोमिटर टाढा छ। अहिले कच्ची सडक भएकाले चारपाँच घण्टा लागे पनि पिच भएपछि साढे दुई घण्टाको मोटर यात्रामा हेलम्बु पुग्न सकिने गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन्।
पर्यटक कहाँबाट पुग्छन्?
काठमाडौँ उपत्यकामा बढ्दो सहरीकरणसँगै जनघत्व पनि तीव्र रूपमा बढिरेहको छ। ठूलो जनसंख्या रहेको उपत्यकाबाट बिदाको दिनमा थोरै मात्रैलाई हेलम्बु लैजाने हो भने गाउँपालिकालाई धेरै फाइदा हुने शेर्पा बताउँछन्। उनी भन्छन्, ‘हेलम्बुमा काठमाडौँ भ्यालीबाटै पर्यटक भित्र्याउने हो।’ पर्यटनको सिजनका बेला विदेशी पर्यटकलाई पनि भित्र्याउने लक्ष्य गाउँपालिकाको छ।
हेलम्बु क्षेत्रमा वर्षमा तीनपटक हिउँ पर्छ। गाउँपालिका अध्यक्ष शेर्पा भन्छन्, ‘हिउँ परेको समयमा ग्रेट ट्रेलमा आएर खेलिरहेको भिडियो कसैले टिकटक र फेसबुकमा हालिदियो भने यहाँको झन् प्रचार हुनेछ। पर्यटकको ताँती लाग्नेछ।’
अहिलेसम्म नेपाललाई सगरमाथाको देश, बुद्धको देश, पशुपतिनाथको देश भनेर चिनिँदै आएकोमा ट्रेल पनि नेपाललाई चिनाउने अर्को माध्यम बन्ने शेर्पाले बताए। काठमाडौँ आएका थोरै मात्रै विदेशी पर्यटकलाई हेलम्बुमा ल्याउन सकियो भने यस क्षेत्रको अर्थतन्त्र चाँडै उकासिने शेर्पाले बताए। उनले भने, ‘हामी त्यही अवधारणाअनुसार यो भेगको अर्थतन्त्रलाई माथि उकास्न सक्रिय छौँ। चीनको ग्रेटवाल बनाउन तीन हजार वर्ष लागेको थियो रे। हामी पनि ढिलोचाँडो बनाइछाड्छौँ।’
हिमाली दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रीतिरिवाजका कारण हेलम्बुका बाह्य पर्यटक आकर्षित हुने गरेका छन्। हेलम्बु क्षेत्रमा विभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको किंवदन्ती पाइन्छ।
हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणीय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा छ। हेलम्बुको माथिल्लो क्षेत्रमा ह्योल्मो र तामाङ जातिको बसोबास छ। आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ हेलम्बुका पर्यटकीय स्थल हुन्।