इटहरी– चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ले बाबुलाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर्षीय अमितलाल चौधरी रहेका छन्। उनले बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा तीन दिनअघि शिशुलाई फालेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
सोमबार (आज) जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको उनले बताए। अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ। उनले नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।
माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा लगेर फालिएको थियो। जंगलमा घाँस दाउराका लागि गएका स्थानीयले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।
बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए।