प्रशासनको लापरबाहीले दुई युवाको हत्या भएको आरोप लगाउँदै जनकपुरमा प्रदर्शन

स्थानीयले मागे गृहमन्त्रीको राजीनामा

हिमाल प्रेस ९ माघ २०७९ १५:३८
30
SHARES
प्रशासनको लापरबाहीले दुई युवाको हत्या भएको आरोप लगाउँदै जनकपुरमा प्रदर्शन

जनकपुरधाम– भारतमा धनुषाका दुई जना युवकको अपहरणपश्चात् हत्या गरिएपछि मृतकका परिवारजन आन्दोलनमा उत्रिएका छन्। मृतकद्वय रोहित साह र विष्णु साहका परिवारजन तथा स्थानीयले प्रहरी प्रशासनको लापरबाहीका कारण उनीहरूको हत्या भएको भन्दै जनकपुरधाम वडा नम्बर ९ पिडारी चोकमा प्रदर्शन गर्दै चक्का जाम गरेका हुन्।

पीडित पक्षले विष्णु र रोहितको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रशासनसँग मागसमेत गरेका छन्।

पीडित परिवारले अपहरणकारीले फोन गरेलगत्तै आफूहरूले यसबारे प्रहरीलाई जानकारी गराए पनि प्रशासनले आवश्यक काम गरिरहेको भन्दै पन्छिँदै आएको र अहिले आएर परिवारले ढिलो जानकारी गराएको भन्ने कुरा उठाइरहेको आरोप लगाए। प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ।

मृतकका मामा मुकेशकुमार साहले प्रहरीलाई पहिला हराएको र अपहरणमा परेको रिपोर्ट दिए पनि प्रहरीले नै चासो नदिएको आरोप लगाए। उनले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भयो भनेर झुटो कुरा गरिरहेको पनि बताए।

प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुवैजनाको ज्यान जोगिने सम्भावना रहेको परिवारको दाबी छ। उनीहरूले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामासमेत मागेका छन्।

रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए। तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा  गाउँमा उनीहरू दुवैको हत्या भएको थियो।

गत विष्णुका परिवारलाई सोमबारसम्म फिरौती मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेका थिए। विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो। अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ बस्ने जगदीश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नम्बर-१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साह छन्। उनीहरूको शव इतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो।

                                                                                                                                                                                                                                                                                                                                             तस्बिरहरू-नेहा झा/हिमाल प्रेस
प्रकाशित: ९ माघ २०७९ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =