बायोमेडिकल इन्जिनियरिङ : जनशक्तिको माग बढ्दो, अध्ययनमा कोटा सीमित

विपिन पोखरेल ६ माघ २०७९ १९:३५
264
SHARES
बायोमेडिकल इन्जिनियरिङ : जनशक्तिको माग बढ्दो, अध्ययनमा कोटा सीमित

काठमाडौँ– नेपालमा वायोमेडिकल इन्जिनियरिङ शिक्षातर्फ जनशक्तिको माग बढ्दो भए पनि सीमित कोटा हुँदा विद्यार्थी अध्ययनको अवसरबाट वञ्चित हुन पुगेका छन्। प्रत्येक वर्ष रोजगार बजारमा जनशक्तिको माग बढ्दै गए पनि विश्वविद्यालयको नजरमा भने यस विषयको अध्यापनले प्राथमिकता नपाएको सरोकारवालाले गुनासो गरेका हुन्।

अस्पतालमा प्रयोग हुने उपकरण निर्माण र मर्मत गर्ने शिक्षाको रूपमा वायोमेडिकल इन्जिनियरिङलाई लिइन्छ। नेपालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यस विषय अध्यापन हुँदै आएको छ।

वायोमेडिकल इन्जिनियरिङलाई अनुसन्धानमुलक विषयको रूपमा लिइन्छ। स्नातक तहमा यो विषय अध्ययन गर्न कक्षा १२को परीक्षामा विज्ञानका विषय लिएर उत्तीर्ण गरेको हुनुपर्छ। कक्षा १२ उत्तीर्ण गरेको विद्यार्थीले विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेपश्चात यस विषय अध्ययन गर्न पाउँछन्।

पुर्वाञ्चल विश्वविद्यालयले नेपालमा एउटा मात्र कलेज वायोमेडिकल इन्जिनियरिङ कलेजलाई यस विषय अध्यापन गर्ने अनुमति दिएको छ। कलेजलाई यस अघि ९६ सिट संख्या निर्धारण गरिएकोमा यस वर्ष ४८ सिट थप गरेर १४४ पुर्‍याएको भए पनि यति जनशक्तिले बजारको मागलाई धान्न नसक्ने र अन्य विश्वविद्यालयले पनि वायोमेडिकल इन्जिनियरिङ अध्यापनका लागि अनुमति दिनुपर्ने इन्जिनियरिङ कलेजहरूको छाता संगठन (एकोन) पूर्वअध्यक्ष लक्ष्मण पोखरेलको भनाइ छ।

उनी भन्छन्,‘यसको प्रचारप्रसार नपुग्दा र विश्वविद्यालयको प्रवेश परीक्षा ढिलो हुँदा विद्यार्थी अन्योलमा पर्ने गरेका छन्। चिकित्सा शिक्षातर्फको स्नातक तहको प्रवेश परीक्षा ढिलो भएकाले नेपालमा सिट खाली हुने र पछि यही विषय अध्ययन गर्न विद्यार्थी विदेशिने अवस्था सृजना भएको छ।’

उनले १४४ जनाको सिट संख्याले बजारको मागलाई धान्न नसक्ने अवस्था आउने तथ्य प्रस्तुत गरे।‘कोभिड महामारीपश्चात मेडिकल उपकरण बढेका छन् तर यसको मर्मत गर्ने जनशक्ति पर्याप्त छैन।

‘कोभिड अघि देशभर भेन्टिलेटर र अस्पतालको बेडसंख्या कम थियो। अहिले देशभर २५ सय हाराहारीमा भेन्टिलेटर छन्। यसलाई मर्मत गर्न दक्ष जनशक्ति आवश्यक पर्छ,’ उनले भने। उनले यस विषय अध्ययन गरेका विद्यार्थी अहिलेसम्म बेरोजगार हुनुनपरेको बताए।

स्नातकतहमा वायोमेडिकल इन्जिनियरिङ उत्तीर्ण गरेका विद्यार्थीले अस्पताल, वायोमेडिकल इक्युपमेन्ट सप्लाएर, मर्मत केन्द्रमा स्वदेशमै रोजगारीको अवसर पाउनुका साथै विश्वजारमा पनि रोजगारीका लागि जाने गरेका छन्।

नेपालमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पनि यो विषय अध्यापन सुरु हुने भएको छ। ‘इन्जिनियरिङ तर्फको यो विषय अध्ययन गर्न विद्यार्थी बाहिर जानुपर्दैन। अन्य विषयमा बीई गरेकाले पनि पाउँछन्। नीजी स्तरबाट सञ्चालन गर्नेभन्दा पनि पुल्चोक क्याम्पसले खोलेदेखि सजिलो हुने,’ पोखरेल बताउँछन्।

देशभर २ हजारभन्दा बढि जनशक्ति आवश्यक पर्ने भए पनि तीन सय पनि जनशक्ति नभएको उनको भनाइ छ। पूर्व अध्यक्ष पोखरेलका अनुसार उत्तीर्ण भएका विद्यार्थी पनि विदेश अध्ययन र रोजगारीको लागि विदेशिएको अवस्था छ। उनी भन्छन्,‘धेरैभन्दा धेरै वायोमेडिकल कलेज खोल्न आवश्यक छ। तर यस तर्फ विश्वविद्यालयको भने ध्यान पुग्न सकेको छैन।’

वायोमेडिकल इन्जिनियरिङ कलेजका सहायक क्याम्पस प्रमुख शेखर खनालले यस पटकदेखि सबै इन्जिनियरिङ विधाको कमन इन्ट्रान्स भएको र पुल्चोकको परीक्षा ढिलो हुँदा विद्यार्थीले यस विषय अध्ययनको अवसर पाउनै मुस्किल पर्ने बताए।

उनले भने,‘विश्वविद्यालयले समयमै प्रवेश परीक्षा लिने र नतिजा निकाल्ने गर्नुपर्छ। विद्यार्थीलाई अध्ययनको अवसर सृजना गर्दै रोजगार उम्मुख बनाउनुपर्छ। विद्यार्थी विदेश अध्ययनमा जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ।’

उनले वायोमेडिकल इन्जिनियरिङलाई दोहोरो मारमा पार्न नहुने विषयमा सजग गराए। उनले विश्वविद्यालयको क्यालेन्डर बनाउदा सबैसँग छलफल गरेर योजना तर्जुमा गर्न सुझावसमेत दिएका छन्।

वायोमेडिकल इन्जिनियरिङ अध्ययनरत छात्रा प्रकृति सिंहले इन्जिनियरिङ प्राविधिक सीपहरूसँग जीवन विज्ञानको अद्वितीय मिश्रण भएको विषयको रूपमा आफूले बुझेको बताइन्।‘मेरो करियरको रूपमा वायोमेडिकल इन्जिनियरिङ रोज्नुको पहिलो कारण वायोमेडिकल अनुसन्धान र विकासको लागि सबैभन्दा आकर्षक क्षेत्र हो,’ उनले भनिन्, ‘यस विषयमा धेरै सोचविचार र विश्लेषण गरेर मैले वायोमेडिकल इन्जिनियरिङ अध्ययन गर्ने निर्णय गरेको हुँ। जसले मेडिसिन र इन्जिनियरिङलाई समान रूपमा माया गर्छ उसलाई यस विषयमा रुचि पनि लाग्छ। यस पाठ्यक्रमले मलाई मानव शरीर र मेसिन दुवैसँग काम गर्ने अवसर प्रदान गरेको महसुस गरेकी छु।’

के हो वायोमेडिकल इन्जिनियरिङ?

वायोमेडिकल इन्जिनियरिङ भनेको इन्जिनियरिङका सिद्धान्तहरू जीवविज्ञान र औषधिमा लागू गर्ने हो जसले इन्जिनियरिङ डिजाइन र समस्या समाधान गर्ने प्रविधिहरूलाई चिकित्सा विज्ञानसँग जोडेर अग्रिम स्वास्थ्य उपचारको लागि प्रयोग गर्छ। यसले कोशिकाहरू र टिस्यु इन्जिनियरिङदेखि मानव अंगहरू, प्रत्यारोपण गर्न मिल्ने यन्त्रहरू, चिकित्सा उपकरणहरू र उपकरणहरूको मोडेलिङसम्मका क्षेत्रहरू समेट्छ।

वायोमेडिकल इन्जिनियरहरू विकसित र अविकसित दुवै देशका लागि आवश्यक पर्छन्। यी इन्जिनियरहरू वायोमेडिकल क्षेत्रको विश्व बजारमा हट केक जस्तै छन्। नेपालमा पनि अस्पताल, नर्सिङ होम, मेडिकल कलेज र मेडिकल उपकरण कम्पनीहरूमा यस क्षेत्रका जनशक्ति कार्यरत छन्।

नेपाल सरकारले पनि सरकारी अस्पतालमा वायोमेडिकल इन्जिनियरका लागि दरबन्दी सिर्जना गरेको छ। यो पाठ्यक्रम पूरा गरेपछि स्नातकहरूले आफ्नै स्वतन्त्र उद्योगहरू स्थापना गरेर थप रोजगारी सिर्जना गर्न सक्छन्।

वायोमेडिकल इन्जिनियरिङ यसकारण फरक

वायोमेडिकल इन्जिनियरहरू मानव स्वास्थ्यमा प्रभाव पार्ने अन्य इन्जिनियरिङका विषयहरूभन्दा भिन्न हुन्छन्। जुन वायोमेडिकल इन्जिनियरहरूले आफ्नो इन्जिनियरिङ डिजाइन प्रक्रियामा आधुनिक जैविक सिद्धान्तहरूको घनिष्ठ ज्ञान प्रयोग गर्ने विज्ञहरूको भनाइ छ। मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ, रसायन विज्ञान, गणित, र कम्प्युटर विज्ञानभन्दा फरक वायोमेडिकल इन्जिनियरिङका पक्षहरू छन्।

मानव स्वास्थ्यसँग जोडिएको वायोमेडिकल इन्जिनियरिङ मानव जीवविज्ञानसँग एकीकृत छ। यसले उन्नत कृत्रिम अंग होस् वा प्रोटिनहरू पहिचान गर्ने, सक्रिय र निष्क्रिय चिकित्सा उपकरणहरूको डिजाइन र विकास गर्ने, अर्थोपेडिक इम्प्लान्ट, मेडिकल इमेजिङ, वायोमेडिकल सिग्नल प्रशोधन, टिस्यु र स्टेम सेल इन्जिनियरिङ, क्लिनिकल इन्जिनियरिङको काम गर्छ।

वायोमेडिकल इन्जिनियरहरूले विभिन्न प्रकारका सेटिङहरू र विषयहरूमा काम गर्छन्। नवप्रवर्तन, डिजाइन, र नयाँ प्रविधिहरू विकास गर्न उनीहरूले ध्यान केन्द्रित गरेका छन्। अनुसन्धानलाई अगाडि बढाउने र चिकित्सा उपकरणहरू विकास गर्दै चिकित्सा उपकरणहरूको लागि सुरक्षा मापदण्डहरू स्थापना गर्न उनीहरूले जोड दिएका छन्।

चिकित्सा उपकरणहरूमा विशेषज्ञहरूले पेसमेकरहरू, कोरोनरी स्टेन्टहरू, अर्थोपेडिक इम्प्लान्टहरू, प्रोस्थेटिक्स, दन्त उत्पादनहरू, एम्बुलेटरी उपकरणहरू जस्ता नयाँ प्रत्यारोपणयोग्य र बाह्य उपकरणहरू विकास गरिरहेका छन्।

प्रकाशित: ६ माघ २०७९ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast