काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन्।
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै दाहालले श्रम मन्त्री र सचिवसँग जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताएका हुन्।
उनले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिहरू रोक्न व्यवसायीहरूको सहयोगको अपेक्षा पनि गरे। समयअनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानीत पारदर्शी,प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरूलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताए।
प्रधानमन्त्री दाहालले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्ने प्रतिवद्धता व्यक्त गरे।
‘वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिका तथ्यहरू नभएको होइनन्। समयअनुसार यो व्यवसायलाई सम्मानित पारर्दर्शी,प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरूलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भएको छ,’ उनले भने, ‘अहिले रोजगारी ऐन २०६४ परिर्माजन गर्नुपर्ने आवश्यकता बारेमा र सरकारले श्रमिकका हक हीतलाई उच्च प्राथमिकताका साथ श्रमिकको जीवन र पसिना बगाएर कमाएको सम्पतीको सुरक्षा र सम्मानको निम्ति दोस्रो कार्यकाल प्रधानमन्त्री भएको बेला ध्यान केन्द्रित भएको थियो। श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर ऐन संशोधनदेखि वैदेशिक व्यवसायलाई पारदर्शी सम्मानित बनाउनको लागि कुनै कसर बाँकी राख्ने छैन।’
उनले आफूले हरेक क्षेत्रमा देश र जनाताको लागि नयाँ सुरुवात गर्ने तयारीमा आफू रहेको पनि बताए। ‘व्यवसायीहरूले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न सक्नुहुन्छ। व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार छ’ उनले भने।