यशोदा न्यौपाने : प्लाटुन कमान्डरदेखि प्रदेश उपसभामुखसम्म

हिमाल प्रेस ६ माघ २०७९ ९:१४
6
SHARES
यशोदा न्यौपाने : प्लाटुन कमान्डरदेखि प्रदेश उपसभामुखसम्म

कर्णाली- किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन। तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले।

उनको जन्म २०४० असोज ३ गते आमा धनरुपा र बुबा धनन्जय न्यौपानेका तीन दाजुभाइका माझ एक छोरीका रूपमा तातोपानी गाउँपलालिका–४ जुम्ला (साविकको हाँकु गाविसमा)मा भएको हो। गरिबी, अभाव, रोग, अशिक्षा र उत्पीडन झेलिरहेको समाजमा जन्मिएकी यशोदालाई त्यही समाजको विद्यमान अवस्थाले २०५५/५६ देखि राजनीतिप्रतिको चासो बढ्दै गयो।

तत्कालीन समयमा नेकपा माओवादीले सशस्त्र विद्रोह थाल्यो। यशोदा २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य भइन्।

पार्टीमा जोडिँदै गर्दा कलाकार हुँदै उनी अखिल क्रान्तिकारी विद्यार्थी संगठनको एरिया उपाध्यक्ष र पछि महिलाको एरिया अध्यक्ष बनिन्। त्यसको एक वर्षपछि २०५८ मा एरिया सेक्रेटरी, त्यसको अन्त्यतिर पार्टीको जिल्ला कमिटी सदस्य, महिला संगठनको जिल्ला कमिटी सचिव हुँदै अखिल नेपाल किसान संगठन (क्रान्तिकारी) क्षेत्रीय ब्युरो सदस्य बनिन्। २०५९ मा उनी माओवादीद्वारा गठित जनमुक्ति सेनाको प्लाटुन कमान्डर बनिन्।

पार्टीको क्षेत्रीय ब्यूरो सदस्य हुँदै यशोदा २०७८ मा पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा हाल कालीकोटको सहइन्चार्जका रूपमा काम गर्दै आइरहेकी छन्। नेकपा माओवादीको पूर्णकालीन सदस्य भएयता यशोदा पटक पटक युद्ध मोर्चामा सहभागी भएकी छन्।

अछामको मंगलसेन आक्रमणपछि जुम्ला घर फर्कँदै गर्दा कालीकोटको सेराबाडामा उनी सेनाको घेरामा परेकी थिइन्। कालीकोटकै मुग्राहमा भएको भिडन्तमा पनि उनी बाँच्न सफल भइन्।

२०५७ मा यशोदाले कालीकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईँसँग विवाह गरिन्। उनको एक छोरी छिन्। हाल कक्षा १२ को अध्ययनलाई निरन्तरता दिइरहेकी यशोदा माओवादीभित्र जुझारु, इमान्दार, कर्मशील र व्यवस्थापकीय क्षमता भएकी महिलाका रुपमा चिनिन्छिन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यशोदा नेकपा (माओवादी केन्द्र)बाट कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।

माघ ४ गते बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकबाट प्रदेशसभामा कायम रहेको ४० सदस्य संख्यामा ३८ उपस्थित हुँदा २४ मत ल्याएर बहुमतले उनी उपसभामुखमा निर्वाचित भइन्।

माघ १ गते सभामुखको निर्वाचन सम्पन्न गरेको प्रदेश सभा बैठकले माघ ४ गते उपसभामुख चयन गरेको हो। सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन्। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast