खेलमैदानमा एक्कासि किन गरियो हेलिकप्टर अवतरण?

हिमाल प्रेस ६ माघ २०७९ ७:१०
6
SHARES
खेलमैदानमा एक्कासि किन गरियो हेलिकप्टर अवतरण?

पोखरा- फुटबल प्रतियोगिता चलिरहँदा वालिङमा बिहीबार एक्कासि प्रभूको हेलिकोप्टर ल्याण्ड गरियो । बिनाजानकारी प्रभुको ९ एन–एएलएक्स हेलिकोप्टर खेलमैदानमै अवतरणपछि आयोजक तथा दर्शक आक्रोशित बनेका छन्।
स्थानीय मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकप चलिरहेकोमा बिहीबार दोस्रो सेमिफाइनलमा वालिङ रातो र क्यामरुनी टोली एभिनियरबीच खेल भइरहेको थियो। तर पहिलो हाफको ३५ मिनेटतिर अर्थात् दिउँसो २ः२४ मा अचानक हेलिकप्टर ल्यान्ड गरिएको हो।

खेलमैदानमा हेलिकोप्टर अवतरण गरेपछि आक्रोशित दर्शकले क्याप्टेन तथा यात्रुमाथि हातपात गरेका थिए। राष्ट्रियस्तरको खेल भइरहेको स्थानमा प्रशासन तथा स्थानीय आयोजक क्लबको अनुमति विना खेलमैदानमा विना सूचना, बिनाजानकारी हेलिकोप्टर अवतरण गर्दा दर्शक आक्रोशित भएका हुन्।

हेलिकोप्टर अवतरण गर्ने वरिपर ठाउँ हुँदाहुँदै पनि केही ब्यक्तिहरुको दबाबमा खेल भइरहेको मैदानमा अवतरण गरी खेलमा अवरोध सिर्जना गर्न खोजिएकाले समस्या उत्पन्न भएको आयोजक वालिङ युनाइटेड फुटबल क्लब अध्यक्ष लालबहादुर ज्वारचनले बताए।

संवेदनशील विषयप्रति आयोजकले ध्यानाकर्षण गर्दै दोषी उपर छानविन तथा कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको उनले बताए। हेलिकोप्टरमा पाइलट रानेश डंगोलसहित स्थानीय ३ जना यात्रु थिए । वालिङ–९ निवासी ती यात्रु आर्थिक रुपमा सम्पन्नशाली परिवारकै सदस्य हुन्।

उनीहरुमा निर्माण व्यवसायी विनोद गैरे सहित खिमबहादुर थापा, सुशील थापा लगायत थिए । पोखरामा रमाइलो गरिरहँदा उनीहरुले ४० हजार रुपैयाँमा हेलिकोप्टर चाटर्ड गरेर खेल हेर्न वालिङ पुगेका थिए।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले आफूहरुलाई यसबारेमा कुनै पनि जानकारी नदिइएको बताए। हेलिकोप्टरकै गल्ती भएकोले आवश्यक कारबाहीको माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयमा लेखी पठाएको प्रजिअ क्षत्रीले बताए।

उक्त घटनामा आक्रोशित दर्शकले पाइलट तथा यात्रुमाथि जाइलागेपछि तत्काल स्थिति नियन्त्रणमा लिइएको उनी बताउँछन् ।

प्रकाशित: ६ माघ २०७९ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =