काठमाडौँ- मानवशास्त्री तथा विचारक डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु (इन टू द मिस्ट)’ प्रदर्शन गरिएको थियो।
माघ ४ मा विष्टको जन्मदिनको अवसरमा वृत्तचित्र देखाइएको हो। सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित यो वृत्तचित्रले विष्टको जीवनयात्रा समेटेको छ।
‘मुभी लभर्स’ले आयोजना गरेको विशेष सो हेर्न काठमाडौँ, सुन्धारा सीटीसी मलमा रहेको सीडीसी सिनेमा हल खचाखच भरिएको थियो। जहाँ रंगकर्मीदेखि विद्यार्थीसम्म अटाएका थिए।
मानवशास्त्रमा उल्लेखनीय भूमिका खेलेका विष्टका थुप्रै किताब र रिसर्च प्रकाशित छन्। प्राज्ञिक व्यक्तित्व विष्टलाई कतिपयले ‘नेपाली मानवशास्त्रका पिता’ पनि भन्ने गर्छन्।
जुम्लाको चौधाविशा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न कटिबद्ध विष्ट सन् १९९५ अचानक गायब भए। रहस्यमयी तरिकाले अलप भएका विष्टसम्बन्धी अनेक धारणा व्याप्त छन्। उनको व्यापक खोजी भयो तर अहिलेसम्म उनलाई कसैले फेला पार्न सकेको छैन।
विष्टबारे बनेको वृत्तचित्रको विशेष प्रदर्शनी गरेर ‘मान्छे किन अलप हुन्छ? मान्छे किन हराउन चाहन्छ? आफू हराउँदा आफूलाई भेटिन्छ?’ लगायत प्रश्नका उत्तर खोज्ने प्रयास गरेको आयोजक मुभी लभर्सले जनाएको छ।
हराउनुअघि विष्ट आफ्ना साथीभाइ र आफन्तसँग ‘म अलप हुन चाहन्छु’ भन्ने गर्थे। आयोजकले विशेष सोमार्फत अलप हुनुको अर्थ खोज्न चाहेको पनि बताएको छ।
विष्टका प्रसिद्ध तथा विवादित किताब ‘फ्याटालिज्म एन्ड डेभलेपमेन्ट’ले नेपाली समाजमा बहस नै निम्त्याएको थियो। कसरी भाग्यवादले नेपाली समाजलाई पछाडि घिसारिरहेको छ भन्ने उनको तर्कमा धेरै सहमति र विमति जनाएका थिए। उनका ‘पिपुल अफ नेपाल’, ‘रिपोर्ट फ्रम ल्हासा’लगायत किताब चर्चित छन्।