काठमाडौँ- नेपालको संसदीय इतिहासमा बिहीबार नवौँ सभामुखको निर्वाचन हुँदैछ। पहिलो आमनिर्वाचन २०१५ सालदेखि २०७४ सम्मको संसद्मा आठ जना सभामुख भएका छन्। तीमध्ये नेपाली कांग्रेसका चार र वामपन्थी दलका तर्फबाट चार जना सभामुख भएका छन्।
२०१५ सालमा सम्पन्न आमनिर्वाचनपछि पहिलो सभामुख कांग्रेस नेता कृष्णप्रसाद भट्टराई भए। २०४८ मा दमननाथ ढुंगाना, २०५१ मा रामचन्द्र पौडेल, २०५६ मा तारानाथ रानाभाट सभामुख भएका थिए। यी चारै जना कांग्रेसबाट सभामुख भएका हुन्।
२०६४ को संविधानसभा निर्वाचनपछि सुवास नेम्बाङ संविधानसभा अध्यक्ष र सभामुख दुवैको भूमिकामा थिए। उनी एमालेका हुन् भने २०७२ सालमा ओनसरी घर्ती, २०७४ कृष्णबहादुर महरा र २०७५ मा अग्निप्रसाद सापकोटा सभामुख भएका छन्। घर्ती, महरा र सापकोटा माओवादीतर्फबाट सभामुख भएका हुन्।
यसैगरी प्रतिनिधिसभा सभामुखका लागि दोस्रोपटक निर्वाचन हुन लागेको हो। २०५१ सालमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सीपी मैनालीबीच प्रतिस्पर्धा हुँदा पौडेल निर्वाचित भएका थिए। त्यसअघि २०१५ सालमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका थिए। त्यसपछिको संसद्मा पनि दलीय सहमतिका आधारमा सभामुख निर्विरोध निर्वाचित हुँदै आएका थिए।
सभामुखका प्रत्यासी एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने।
यसपल्ट भने सत्ता गठबन्धन र विपक्षी गठबन्धनका तर्फबाट दुई जना मैदानमा छन्। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी कांग्रेस गठबन्धनबाट कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्।
एमालेका मिरेलाई सत्ता गठबन्धन चार पार्टीको समर्थन छ। जसअनुसार नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, स्वतन्त्र पार्टीको २०, राप्रपाको १४ मत छ। सभामुखमा जित्नका लागि १३८ मत आवश्यक पर्छ। चार दलको मत जोड्दा १४४ मत हुन्छ। न्यौपानेलाई भने कांग्रेससहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ।
संघीय प्रतिनिधिसभामा कांग्रेसको ८९, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादीको १२ र लोकतान्त्रिक समाजवादीको चार सिट छ। यी सबैको जोड्दा विपक्षी गठबन्धनको ११५ सिट हुन्छ। तर कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङलाई मताधिकार नहुँदा ११४ मात्र हुने देखिन्छ।