काठमाडौँ- हिन्दी फिल्म ‘द कश्मीर फाइल्स’ एकपटक फेरि भारतीय सिनेमा हलमा प्रदर्शनमा आउनेछ। फिल्म निर्देशक विवेक अग्निहोत्रीले फिल्म फेरि रिलिज हुने भन्दै ट्वीट गरेका छन्।
ट्वीटमा उनले फिल्म जनवरी १९ मा पुनः प्रदर्शनमा आउने लेखेका छन्। अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी, दर्शन कुमारलगायत कलाकार रहेको फिल्मको सन् २०२२ को मार्च ११ मा भारतका हलहरूमा प्रदर्शनमा आएको थियो।
जनवरी १९ मा फिल्म फेरि रिलिज गर्नुको कारण खुलाउँदै निर्देशक अग्निहोत्रीले ट्वीट गरेका छन्, ‘यो कश्मीरी हिन्दू नरसंहार दिवस हो। एक वर्षमा दुईपटक प्रदर्शनमा आउने पहिलो फिल्म हो, द कश्मीर फाइल्स।’
कश्मीरी पण्डितहरूको पलायनको ३३ वर्ष पूरा भएको अवसरमा फिल्म फेरि प्रदर्शनमा आउने भनेर अभिनेता अनुपम खेरले पनि ट्वीट गरेका छन्।
फिल्ममा सन् १९९० मा पाकिस्तानको समर्थन गर्ने आतंकवादीहरूद्वारा कश्मीरका पण्डितको हत्या र उनीहरूलाई घरबारविहीन बनाएको कथालाई देखाइएको छ।