यी सांसद बन्दैछन् एमालेबाट मन्त्री

हिमाल प्रेस ३ माघ २०७९ ९:१४
14
SHARES
यी सांसद बन्दैछन् एमालेबाट मन्त्री

काठमाडौँ- सत्ता साझेदार दलको भागबन्डा मिलाएसँगै नेकपा एमालेले पनि पार्टीबाट सहभागी हुने मन्त्री नाम टुंग्याएको छ।

एमालेले सरकारमा जाने मन्त्रीको नाम खुलाए पनि कुन जिम्मेवारी दिने खुलाएको छैन। यसअघि नै उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेल सामेल भइसकेका छन्। पौडेलसँगै ज्वालाकुमारी साह,राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन्।

उनीहरूलाई पनि मन्त्री बने पनि मन्त्रालयको जिम्मेवारी दिएको छैन। एमालेले ८ वटा मन्त्रालयसहित सरकारमा १० जना सहभागिता गराउने छ। मन्त्रीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेतासँग परामर्शमा छन्।

ओलीले पार्टीभित्र आकांक्षी बढेसँगै नयाँ मापदण्ड बनाएर मन्त्री टुंग्याएका हुन्। उनले ‘हेभीवेट’ हराएका, पटकपटक सांसद भएर मन्त्री हुन पाएका र नयाँ सांसदलाई प्राथमिकतामा राखेका छन्।  चार विभागीय मन्त्रीमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीले मौका पाउने भएका छन्।

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार गिरी निर्वाचित भएका छन्। उनी २०७४ सालमा पनि सोही ठाउँबाट निर्वाचित भएका थिए तर मन्त्री बनेका छैनन्। यस्तै सुनसरी ३ बा निर्वाचित भगवती चौधरी यसपल्ट मात्र प्रतिनिधिसभा टेकेकी हुन्।

उनले कांग्रेस नेता विजयकुमार गच्छादारलाई हराएकी हुन्। सर्लाही ३ बाट निर्वाचित हरि उप्रेती संविधानसभा सदस्य समेत हुन्। कपिलवस्तु निर्वाचन क्षेत्र १बाट प्रतिनिधिसभामा निर्वाचित बलराम अधिकारी माओवादी नेता चक्रपाणी खनाललाई हराएका थिए।

एमालेले यसपाली दुईपटक चुनाव जितेका र अहिलेसम्म मन्त्री बन्न नपाएकामध्येबाट मन्त्री छनौट गरेको हो । त्यस्तै दुई राज्यमन्त्रीमध्ये एक रौतहट २ का किरण साह पनि छन्। उनी प्रतिनिधिसभा निर्वाचनमा जसपालाई आफ्नो क्षेत्र दिएको भन्दै स्वतन्त्र लडेका थिए। तर निर्वाचित बनेसँगै एमाले भित्रिएका साहले मन्त्री हुने अवसर पाउँदैछन्।

यस्तै एमालेले ७ वटै प्रदेशका सांसद पर्ने गरी मन्त्री बनाउन खोजेको छ।

एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।

 

 

 

प्रकाशित: ३ माघ २०७९ ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =