सत्तारुढ दलबीच ‘प्याकेज’मै सहमति : राष्ट्रपति र सभामुख एमालेलाई, उपसभामुख रास्वपालाई

हिमाल प्रेस ३ माघ २०७९ ८:१३
90
SHARES
सत्तारुढ दलबीच ‘प्याकेज’मै सहमति : राष्ट्रपति र सभामुख एमालेलाई, उपसभामुख रास्वपालाई

काठमाडौँ- सरकार बनेको २२ औँ दिनको मध्यरातमा सत्तारुढ दलले संवैधानिक पदसहित मन्त्रालय बाँडफाँटको सहमति गरेका छन्। हिजो रातिसम्म बसेको सत्तारुढ दलको बैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित सबै मन्त्रालयको ‘प्याकेज’मा टुंग्याएको हो। दलहरूको सहमतिअनुसार राष्ट्रपति र सभामुख गठबन्धनको नेकपा एमालेलाई दिने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने निर्णय गरेको हो ।

गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले प्रधानमन्त्री पाइसकेको छ भने उपराष्ट्रपति पनि पाउने छ। यस्तै उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने भएको छ। दलहरूले योसहित मन्त्रालय बाँडफाँट पनि सकेका छन्। जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएसँगै अन्य पार्टीले मात्रै बाँडफाँट गरेका हुन्। हिजोको सहमति अनुसार नेकपा एमालेले ८ मन्त्री र दुई राज्यमन्त्रीलिने समझदारी छ।

हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन्। तीनमन्त्रीले विभागीयमन्त्रीले जिम्मेवारी पाएका छैनन्। ८ मन्त्रालय पाउँदा एमालेका थप चार जना मन्त्री थपिनेछन्।
नेकपा माओवादी केन्द्रले ४ मन्त्री र एक राज्यमन्त्रीपाउने समझादारी छ।

माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३ मन्त्री पाउने भनिएको छ। रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन्।

अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउने भनिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्जासहित २ मन्त्रालय लिएर सरकारमा जानेछ। जनता समाजवादी पार्टी (जसपा) सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ। जनमत पार्टीलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको छ। यो सहमितसँगै नेपाली कांग्रेसले राष्ट्रपति पाउने सम्भावना अन्त्य भएको छ। राष्ट्रपति र सभामुखमा बाँडफाँट गर्नुपर्ने भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।

प्रकाशित: ३ माघ २०७९ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast