आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

हिमाल प्रेस २ माघ २०७९ १३:१७
50
SHARES
आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

काठमाडौँ- आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा)लाई पठाइदिनका लागि पाहुर तयार पार्दै थिइन्। २९ वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उनलाई भ्याइनभ्याइ थियो।

सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त थिइन्।

सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौँमै पुग्ने तयारीमा थिइन्।

सिर्जनाको आइतबार दुईवटा हवाई उडानका लागि पालो परेको थियो। बिहान साढे १० बजे काठमाडौँदेखि यतिएयरलाइन्सको एटीआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतबारै पोखराबाट काठमाडौँ फर्किएपछि भद्रपुर जाने तालिका उनले शनिबार फोनमा आमा खिमिसरालाई बताएकी थिइन्।

माघे संक्रान्तिका दिन रुपन्देहीमा बिहानैदेखि शीतलहर चलेको थियो। अघिल्लो दिन घाम लागे पनि त्यस दिन निकै चिसो र बाक्लो हुस्सु लागेको थियो। यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो।

पछि यती एयरकै जहाज खसेको थाहा पाएपछि उनलाई पत्याउन कर लाग्यो र सैनामैना नगरपालिका-५ बुद्धनगरमा रहेको सिर्जनाको घरमा पनि रुवावासी सुरु भयो। सिर्जनाका छिमेकी जम्मा हुन थाले सिंगो गाउँ नै शोकमा परिणत भयो।

एक दिन अगाडि फोनमा छोरीसँग घण्टौँ कुरा गरे खिमिसरालाई त्यो घटना सुरुमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो। घटनापछि उनको घरमा छिमेकी जम्मा भए।

‘हिजो फोनमा कुरा गर्दा अलि धेरै बटुक र रोटी पठाइदिनू है ममी भनेकी थिई, आज यस्तो भयो,’ खिमिसराले भक्कानिँदै भनिन्। ‘बटुक धेरै मनपर्छ, अलि धेरै पठाइदिनू है मम्मी’ भन्ने वाक्य खिमिसराको मनमा अझै गढेर बसेको छ।

भारतीय सेनाबाट अवकाश प्राप्त बुबा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका साथै तीन छोरा छन्। उनको निधनपछि सैनामैनामा शोकमा रहेका आफन्त, छिमेकी र स्थानीय जनप्रतिनिधिले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेको वडाध्यक्ष धनप्रसाद पौडेलले जानकारी दिए।

प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरिन्।

आइतबार बिहान १०ः३२ मा काठमाडौँबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए।  -रासस

प्रकाशित: २ माघ २०७९ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =