देवघाटमा भक्तजनको घुइँचो

हिमाल प्रेस १ माघ २०७९ ९:३२
12
SHARES
देवघाटमा भक्तजनको घुइँचो चितवन, तनहुँ र नवलपुरको सङ्गममा अवस्थित पवित्र तीर्थस्थल देवघाटधाममा तनहुँतर्फको वेणी सङ्गममा डुङ्गामार्फत जाँदै भक्तजन। स्नानका लागि आएका भक्तजनलाई नदी वारपार गर्नका लागि दुई दर्जनभन्दा बढी डुङ्गाको व्यवस्था गरिएको छ। तस्बिर: कृष्ण आचार्य/रासस

चितवन- पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज (आइतबार) बिहान पनि भक्तजन देवघाट प्रवेश गरिरहेका छन्। दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ।

विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार रातभर जाग्राम बस्नेहरू चितवन र तनहुँतर्फ गरी २० हजारभन्दा बढी थिए।

तनहुँतर्फका गलेश्वर, महेश संन्यास, हरिहर आश्रमका सभाकक्षसमेत भरिएका थिए। यस्तै दुवैतर्फका विद्यालय, मन्दिर, सत्तललगायत रुखमुनिसमेत भक्तजनले भरिएको उनले जानकारी दिए।

भगवानको नाम जपेर साँझदेखि भजनकीर्तन गर्दै दीप प्रज्ज्वलन गरेर खाली ठाउँमा समेत भक्तजन बसेको उनको भनाइ छ। मेलालाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिएका छन्।

अध्यक्ष अधिकारीको भनाइमा झण्डै एक हजार सुरक्षाकर्मी देवघाट क्षेत्रमा परिचालित छन्। नदीमा नुहाउने र र्‍याफ्टिङका क्रममा दुर्घटना भई हालेमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र क्षेत्र विकास समितिका स्वयंसेवक तयारी अवस्थामा राखिएको छ।

सवारी व्यवस्थापनका लागि आँपटारी र जुगेडीबाट जाने र रामनगरबाट फर्किने गरी व्यवस्थापन गरिएको छ। देवघाटका वारि र पारि दाताहरूले साँझदेखि नै चिया, जेरीपुरी, खानासमेत निःशुल्क खुवाइरहेको उनले जानकारी दिए।

शनिबार बिहान ९ बजे त्रिशूली र कालीगण्डकीको वेणीमा बाँसको लिंगो ठड्याएर औपचारिकरूपमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो। शनिबारदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास रहेको छ।

आजको दिन देवतासमेत देवघाटमा स्नान गर्न आउने किंवदन्ती रहेको छ। यहाँ स्नान गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले टाढाटाढाबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन्।

प्रकाशित: १ माघ २०७९ ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =