मधेशका मुख्यमन्त्री यादवले आज शपथ लिँदै

हिमाल प्रेस २९ पुष २०७९ १०:२२
4
SHARES
मधेशका मुख्यमन्त्री यादवले आज शपथ लिँदै फाइल तस्बिर।

जनकपुरधाम- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्। बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा मध्यान्ह १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मधेश प्रदेशमा १० मन्त्रालय छन्।

प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्। मन्त्रालय भागबन्डाका लागि बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए।

मधेश प्रदेशसभामा लोसपाका ९ सांसद छन्। लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन्।

अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल संघीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक, स्वतन्त्र २ सांसदले समर्थन गरेका छन्। यहाँ माओवादीका ९ सांसद भए पनि दुई जनाको शपथ रोकिएको छ।

लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन्।

प्रकाशित: २९ पुष २०७९ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast