मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले शुक्रबार शपथ लिने

हिमाल प्रेस २८ पुष २०७९ २०:०१
16
SHARES
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले शुक्रबार शपथ लिने

जनकपुर– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। बुधबार मुख्यमन्त्री नियुक्त गरिएका यादवले शुक्रबार मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

नवनियुक्त मुख्यमन्त्री यादव ४ जना मन्त्रीसहित शपथ ग्रहण गर्न लागेको जनाइएको छ। यद्यपि शपथ लिने मन्त्रीहरूको मन्त्रालयको जिम्मेबारीबारे टुंगो लागेको छैन। मुख्यमन्त्रीसँगै सत्ता साझेदार दलहरूलाई समेटेर शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन हुने जसपाका एक प्रदेशसभा सदस्यले जानकारी दिए।

शुक्रबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र जसपाबाट एक/एक जना मन्त्रीले शपथ लिन लागेको बताइएको छ। स्रोतका अनुसार एमालेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, नेकपा माओवादी केन्द्रले उद्योग, पर्यटन तथा वन मन्त्रालय, जसपाले सामाजिक विकास मन्त्रालय र जनमतले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको हो।

‘शुक्रबार मुख्यमन्त्रीसहित एमाले, माओवादी केन्द्र, जनमत र जसपाका एक/एकजना मन्त्रीले शपथ लिनुहुन्छ,’ एक प्रदेशसभा सदस्यले भने, ‘त्यसपछि विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार हुनेछ।’
मधेशमा एमालेसहित जसपा, जनमत पार्टी, माओवादी केन्द्र, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र दुईजना स्वतन्त्र सांसद सत्ता साझेदार छन्।

प्रकाशित: २८ पुष २०७९ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =