ग्राहम पोर्टर भन्छन् : चेल्सीको प्रशिक्षक हुनु विश्व फुटबलमा सबैभन्दा कठिन काम हो

हिमाल प्रेस २८ पुष २०७९ १३:०७
2
SHARE
ग्राहम पोर्टर भन्छन् : चेल्सीको प्रशिक्षक हुनु विश्व फुटबलमा सबैभन्दा कठिन काम हो

काठमाडौँ- चेल्सी प्रशिक्षक ग्राहम पोर्टरले आफू विश्व फुटबलकै सबैभन्दा कठिन जिम्मेवारीमा रहेको बताएका छन्। यसो भनेर आफूले कसैबाट सहानुभूति खोज्न नखोजेको पनि उनले प्रष्टीकरण दिए।

चेल्सी हाल इंग्लिस प्रिमियर लिगमा १० औँ स्थानमा छ। कयौँ खेलाडी घाइते भएकाले अप्ठ्यारोमा परेको चेल्सीले नयाँ खेलाडी पनि भित्र्याइरहेको छ। यस्तोमा चेल्सीलाई लयमा फर्काउने दबाबमा छन्, पोर्टर।

टोड बोह्लीको समूहले गत मे महिनामा स्वामित्वमा लिएपछि चेल्सीको टिममा निकै परिवर्तन गरिएको छ। प्रशिक्षकदेखि क्लबभित्रको संरचना फेरिएका छन्। यद्यपि मैदानमा भने चेल्सीको प्रदर्शन ठिकठाक रहन सकेको छैन। पछिल्ला आठ खेलमा चेल्सी जम्मा एकमा मात्र विजयी भएको छ। एएफए कप र लिग कपबाट समेत बाहिरिइसकेको चेल्सीका नयाँ खेलाडीले सोचे जस्तो खेल देखाउन सकिरहेका छैनन्।

‘म चुनौतीपूर्ण जिम्मेवारीमा छु। यो असाध्यै कठिन छ। मलाई लाग्छ चेल्सीको प्रशिक्षक हुनु विश्व फुटबलको सबैभन्दा कठिन काम हो। मैले यसो भन्नुका दुई कारण छन्, समर्थकको अपेक्षा र क्लब स्वामित्वमा भएको परिवर्तन। समर्थकले ठूलो आशा राख्नु गलत होइन। बरु अपेक्षा राख्नु सही हो,’ पोर्टरले भने।

यही सिजनबाट चेल्सीको जिम्मेवारी सम्हाल्न सुरु गरेका पोर्टरले चेल्सीले विगतमा व्यवस्थित परीचय बनाएको र नयाँ व्यवस्थापनमा पुरानो स्थितिमा फर्कन केही समय लाग्ने पनि धारणा राखे।

‘प्रिमियर लिगमा अरु ठूला टिमसँग प्रतिस्पर्धा गर्न हामीलाई केही समय लाग्नेछ। अहिले हामी अप्ठ्यारो स्थितिमा छौँ। किनभने हामीले १० खेलाडी चोटका कारण गुमाएका छौँ। खैर जे होस्, चेल्सीका प्रत्येक हारको जिम्मा मैले लिनुपर्छ। किनभने यो टिमको प्रशिक्षक म हुँ,’ पोर्टरले भनेका छन्।

चेल्सी गत आइतबार एफए कपमा म्यानचेस्टर सिटीसँग ४–० ले हारेको थियो। त्यस खेल दौरान चेल्सी समर्थकले क्लबका पूर्वमालिक रोमन अब्रामोभिच र पूर्वप्रशिक्षक थोमस टुकलको नाममा नारा लगाएका थिए। रुसले युक्रेनमाथि हमला गरेपछि अब्रामोभिचलाई चेल्सी बिक्री गर्न बाध्य बनाइएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिक रहेको भन्दै अब्रामोभिचको बेलायतभित्र रहेको सम्पत्ति रोक्का गरियो। जसकारण चेल्सीको स्वामित्व परिवर्तन अनिवार्य बन्यो।

टुकल भने चेल्सीलाई लिगका सुरुवाती ६ खेलमध्ये तीनमा जित दिलाए पनि बर्खास्तीमा परेका थिए। उनको स्थानमा पोर्टरलाई ल्याइएको थियो। ‘म चेल्सीको प्रशिक्षक बन्न पाएकोमा गर्व महसुस गरिरहेको छु।

‘यो क्लबप्रति सम्मान छ। चेल्सी पछिल्लो २० वर्षमा जुन पद्धतिमा चल्यो, त्यसलाई पनि म सम्मान गर्छु। त्यसबेला चेल्सीले निकै उपाधि जित्यो,’ पोर्टरले भने, ‘तर चेल्सी अब फरक परिस्थितिमा छ। हामी नयाँ युगमा छौँ। यो क्लबलाई विगतमा जस्तै बलियो बनाउनुछ। तर त्यसका लागि केही अप्ठ्यारालाई पन्छाउनुछ। यो बीचमा समर्थक निराश बन्न सक्छन्। यो स्वाभाविक हो।’

प्रकाशित: २८ पुष २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =