काठमाडौँ- वेल्सको फुटबललाई थाहा नभएको होइन, एक दिन उसका सबैभन्दा ठूला स्टारले संन्यास लिन्छन् भनेर। तब त डर थियो। डर पनि यस्तो कुराको जुन पन्छिने खालको थिएन। आखिरमा ग्यारेथ बेलले संन्यासको घोषणा गरे नै। उनको यो निर्णयले वेल्स झस्कियो। किनभने वेल्सलाई लागेको थियो, बेल अझ केही वर्ष टिममा रहनेछन्।
हुन त बेलको भविष्यबारे विभिन्न टीकाटिप्पणी भइरहेकै थिए। खासमा उनी रियल म्याड्रिड करियरको उत्तराद्र्धमा छँदा नै अनेक अड्कालबाजी भएका हुन्। बेल युरो २०२० र विश्वकप २०२२ खेल्दै गर्दा पनि हल्ला चल्न छाडेन।
वेल्सले विश्वकपको समूह चरण पार गर्न नसक्दा निराश बने पनि बेलले संन्यास लिइहाल्छन् भनेर अनुमान गरिएको थिएन। ‘आफूले सकुन्जेल, टिमले चाहुन्जेल खेल्छु,’ विश्वकपपछि बेलले भनेका थिए। वेल्स समर्थक बेल सधैँ टिममा रहुन् भन्ने चाहन्थे। बेलबिनाको वेल्स, कल्पना गर्न मान्दैन थिए।
तर कोही खेलाडीको करियर अमर हुँदैन। कुनैदिन यात्राको अन्त्य हुन्छ नै। ३३ वर्षका बेलले याे तथ्यलाई स्वीकार गरे। हुन त यो उमेरमा खेलिरहेका स्टार धेरै छन्। बेल पनि अझै खेल्न सक्थे होला नि? यस्तो सोच्ने समर्थक पनि छन्। तर यहाँ बिर्सिन नहुने तथ्य के छ भने, बेल लगातार १७ वर्षदेखि खेलिरहेका थिए। पछिल्ला केही वर्षयता उनमा थकान देखिन थालिसकेकाे थियाे।
बेलको संन्याससँगै वेल्सले आफ्नो इतिहासको सबैभन्दा उम्दा खेलाडी गुमाएको छ। यसलाई एउटा युगको अन्त्य भन्दा पनि फरक पर्दैन।
बेललाई सबैभन्दा उम्दा किन भनिएको हो भने उनको नेतृत्वमा वेल्स पहिलेभन्दा उचाइमा पुगेको छ। वेल्स कुनैबेला युरो र विश्वकपमा छनोट हुन नसक्ने टिम थियो। तर ऊ ठूला प्रतियोगिता लगातार खेल्ने टिम बनेको छ। योबीचमा वेल्सले विश्व फुटबलमा आफ्नो परिचय स्थापित पनि गर्न सकेको छ। याे बेलबिना सम्भव थिएन।
कोही खेलाडीको करियर अमर हुँदैन। कुनैदिन यात्राको अन्त्य हुन्छ नै। ३३ वर्षका बेलले याे तथ्यलाई स्वीकार गरे। हुन त यो उमेरमा खेलिरहेका स्टार धेरै छन्। बेल पनि अझै खेल्न सक्थे होला नि? यस्तो सोच्ने समर्थक पनि छन्। तर यहाँ बिर्सिन नहुने तथ्य के छ भने, बेल लगातार १७ वर्षदेखि खेलिरहेका थिए। पछिल्ला केही वर्षयता उनमा थकान देखिन थालिसकेकाे थियाे।
सन् २०१३ मा बेल विश्व फुटबलकै सबैभन्दा महँगा खेलाडी बनेका थिए। त्यसबेला उनलाई टोटनहमबाट लैजान रियल म्याड्रिडले आठ करोड ५० लाख पाउन्ड तिर्नु पर्याे। स्पेनमा उनी नौ वर्ष रहे। एक सयभन्दा बढी गोल गरे। त्योभन्दा महत्त्वपूर्ण चाहिँ उनले पाँच पटक च्याम्पियन्स लिग जिते। उनी रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो, अलफ्रेडो डि स्टिफानो, एसी मिलानका पाओलो माल्दिनीसँगै सर्वाधिक पटक च्याम्पियन्स लिग जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। स्पेनको राजधानीमा रहुन्जेल बेलले तीन पटक ला लिगा पनि जिते।
स्पेनतिर स्थान्तरण हुनुअघि बेलले टोटनहममा केही उपाधि जित्न सकेनन्। तर व्यक्तिगत सफलता भने हात पार्न सके। उनलाई दुईपल्ट इंग्लिस प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडीक घोषित गरिएको थियो।
राष्ट्रिय टिममा उनले हासिल गरेको उपलब्धि कम लोभलाग्दो छैन। वेल्सका लागि सबैभन्दा धेरै खेल्ने र गोल गर्ने खेलाडी हुन्, बेल। उनले एक सय ११ खेलमा ४१ गोल गरेका छन्। यी तथ्यांकलाई अरु खेलाडीले सजिलै छुन सक्ने छैनन्। यसले पनि बेलको विरासत कति गहिरो छ, प्रस्ट पार्छ। यद्यपि बेललाई तथ्यांकमा सीमित पारिनु भने हुँदैन।
खेल शैली, कौशल र क्षमताका हिसाबमा बेल अद्भुत रहे। यसो पनि भन्न सकिन्छ, वेल्स र रियल म्याड्रिड चलचित्र भए, बेल त्यसका मुख्य नायक। यस्तो नायक जसले आफ्नो कथा आफैँ लेखे।
टोटनहममा वा रियलमा, बेलले सधैँ आफूसँग भएको प्राविधिक गुण मैदानमा देखाउन कन्जुस्याइँ गरेनन्। तीव्र गतिमा खेल्ने उनी ड्रिब्लिङमा माहिर थिए। लामा दूरीका गोल त उनले कति गरे, हिसाब किताब छैन। कोपा डेलरेमा बार्सिलोनाविरुद्ध होस् वा लिभरपुलसँगको च्याम्पियन्स लिग फाइनलमा, उनले सबैलाई अवाक बनाउनेगरी सुन्दर गोल गरे।
रियल जस्तो ठूलो क्लबबाट खेलेर विश्वभर चिनिएका उनी वेल्सभित्र पनि नायक हुन्। १६ वर्षको हुँदा वेल्सबाट खेल थालेका बेलले कठिन चुनौती पारे गरे। चुनौती थियो, वेल्सलाई अरुले हेप्न नसक्ने टिमका रुपमा स्थापित गर्ने। यो चुनौती पार गर्न उनलाई जो एलन र आरोन राम्सी जस्ता खेलाडीले साथ दिए।
युरो २०१६ छनोटमा बेल वेल्सका उच्च गोलकर्ता बने। ५८ वर्षपछि मुख्य प्रतियोगितामा फर्किएको वेल्स फ्रान्सले आयोजना गरेको युरोको सेमिफाइनलसम्म पुग्यो। करिब ६ दशकपछि युरोमा फर्किएको, त्यसमाथि अन्तिम चारसम्मको यात्रा। यो वेल्सका लागि चानचुने उपलब्धि थिएन।
दुई वर्षपछिको विश्वकपमा वेल्स छनोट हुन सकेन। प्लेअफमा आयरल्यान्डसँग हारेपछि वेल्सले रुसको टिकट काट्न सकेन। युरो २०२० का लागि भने वेल्स छानियो। बेलकै कप्तानीमा वेल्स कतार विश्वकपमा चाहिँ छनोट भयो। यो सफलता वेल्सका लागि ऐतिहासिक थियो। किनभने वेल्सले सन् १९५८ यता विश्वकपको स्वाद चाख्न पाएको थिएन।
टोटनहममा वा रियलमा, बेलले सधैँ आफूसँग भएको प्राविधिक गुण मैदानमा देखाउन कन्जुस्याइँ गरेनन्। तीव्र गतिमा खेल्ने उनी ड्रिब्लिङमा माहिर थिए। लामा दूरीका गोल त उनले कति गरे, हिसाब किताब छैन। कोपा डेलरेमा बार्सिलोनाविरुद्ध होस् वा लिभरपुलसँगको च्याम्पियन्स लिग फाइनलमा, उनले सबैलाई अवाक बनाउनेगरी सुन्दर गोल गरे।
बेलको उपस्थितिकै कारण वेल्सले लगातार युरो खेल्न सकेको हो। विश्वकपमा छानिएको हो। युरो २०१६ सम्भवतः बेलका लागि सबैभन्दा सम्झनलायकको प्रतियोगिता हो। एक त वेल्सले नसोचेको उपलब्धि हासिल गर्न सक्यो, त्यसमाथि बेलले तीन गोल पनि गर्न सके।
त्यसबेला बेल शारीरिक रुपमा बलिया थिए। उनी असाध्य्र तीव्र गतिमा खेल्न सक्थे। यो उनको मुख्य हतियार थियो। तर त्यसको ६ वर्षपछि विश्वकप छनोटका खेलमा मैदान उत्रदा बेलसँग यो हतियार थिएन। उमेर बढ्दै गएकाले उनले ‘पेस’ गुमाइसकेका थिए। त्यसकारण उनले खेल शैली फेर्नुपर्ने भयो। आखिरमा उनले त्यही गरे।
वेल्स विश्वकप २०२२ का लागि सजिलै छनोट भएको होइन। दुई प्लेअफ जितेपछि मात्र वेल्सको कतार यात्रा पक्का भएको थियो। त्यसका लागि वेल्सले अस्ट्रिया र युक्रेनलाई पराजित गरेको थियो। ती दुवै खेलमा गोल बेलले गरेका थिए। विश्वकपमा वेल्सको अनुभव भने राम्रा रहेन। वेल्सले जम्मा एक अंक बटुल्यो, एक गोल गर्यो। त्यो गोल गर्ने बेल नै थिए।
विश्वकप यात्रा चाँडै टुंगिएपछि वेल्सका प्रशिक्षक, अरु खेलाडी र समर्थक जस्तै बेल पनि स्वाभाविक रुपमा विक्षिप्त बने नै। इंग्ल्यान्डसँगको खेलपछि उनले रंगशालामा उपस्थित समर्थकसँग बिदा मागेका थिए। यद्यपि समर्थकको विश्वास थियो, बेलले औपचारिक रुपमा बिदा मागेका होइनन्।
विश्वकपको असफलतालाई वेल्सले बिर्सनेछ। उसो त छनोट हुनु नै वेल्सका लागि ठूलो सफलता हो। आफ्नो टिमलाई ६४ वर्षपछि विश्वकपमा छनोट गराएकोमा बेलले पनि गर्व महसुस गर्ने नै छन्।
उनमा यही भावना रियल बसाइलाई लिएर पनि हुनेछ। नौ वर्ष रियलमा रहँदा उनले उतारचढाव नभोगेका होइनन्। तर त्यहाँ जितेका १६ उपाधिका कारण बेलले कुनै किसिमको पछुतो मान्ने छैनन्।
बेल बेलायत बाहिर गएर खेल्ने बेलायतीमध्ये सबैभन्दा सफल खेलाडी हुन्। तर उनको विरासत क्लब फुटबलमा भन्दा वेल्सको फुटबलमा गहिरो छ। बेलले देखाएको व्यवहारले प्रष्ट भएको कुरा हो, उनी आफ्नो देशलाई लिएर संवेदनशील छन्। सन् २०१८ मा च्याम्पियन्स लिगमा रियलले लिभरपुललाई हराउन साथ बेलले वेल्सको झण्डा काँधमा हालेका थिए।
स्पेनमा बेल लगभग सधैँ आलोचित भइरहे। कतिसम्म भने च्याम्पियन्स लिग जितेको एक वर्षपछि बेलमाथि आरोप लगाइयो, ‘बेल रियलबाट खेल्न प्रतिबद्ध छैनन्।’ रिसको झोँकमा उनले जवाफ फर्काए, ‘म वेल्सबाट खेल्दा बढी उत्साहित हुन्छु।’ युरो २०२० का लागि छनोट भएपछि बेलले रियल समर्थकलाई व्यङ्ग्य गर्ने एक ब्यानर बोकेका थिए। जसमा लेखिएको थियो, ‘वेल्स। गल्फ। म्याड्रिड। प्राथमिकताको वरीयता।’
बेलले वेल्सलाई विश्वभर जसरी चिनाए, त्यसरी यो देशलाई चिनाउन सकेका व्यक्ति थोरै छन्। राष्ट्रिय टिमसँगको विशेष सम्बन्धका कारण बेलले सोमबार संन्यास घोषणा गर्दा वेल्सका लागि भिन्दै पत्र लेखे।
रियल करियर अघि बढ्दै जाँदा बेल र रियल समर्थकबीच दूरी बढ्दै गयो। वेल्स समर्थकको हकमा भने परिस्थिति ठ्याक्कै उल्टो थियो। उनी र ती समर्थकबीच सम्बन्ध प्रगाढ रह्यो।
बेलले वेल्सलाई विश्वभर जसरी चिनाए, त्यसरी यो देशलाई चिनाउन सकेका व्यक्ति थोरै छन्। राष्ट्रिय टिमसँगको विशेष सम्बन्धका कारण बेलले सोमबार संन्यास घोषणा गर्दा वेल्सका लागि भिन्दै पत्र लेखे।
‘मैले जोसँग ड्रेसिङ रुम सेयर गरे ती सबै मेरा दाजुभाई भए। प्रशिक्षण टिमका सबै मेरा परिवारका सदस्य बने। वेल्सबाट खेल्दा मैले असाध्यै गुनिला प्रशिक्षकबाट सिक्ने मौका पाएँ। समर्थकले अथाह प्रेम देखाए। यो यात्रामा मलाई साथ दिने सबैप्रति आभार छु। अहिलेका लाटि टिमबाट बाहिरिँदैछु। तर टाढिन लागेको होइन। वेल्स मेरो नसा नसामा छ,’ बेलले आफ्नो पत्रमा लेखेका छन्।
खेलाडीका फरक फरक स्वभाव र स्तर हुन्छन्। कोही आफ्नो टिमका लागि प्रेरणाको स्रोत बन्छन्। कसैले टिमलाई उपाधि जिताउँछन्। कोही चाहिँ टिमको पर्याय बन्न पुग्छन्। पर्याय बन्ने खेलाडीको संख्या धेरै हुँदैन। असाध्यै थोरै खेलाडीले मात्र एउटा पूरै पुस्तालाई आफ्नो समर्थक बनाउन सक्छन्। यस्तै थोरै खेलाडीमध्येका एक हुन्, बेल।
बीबीसीकाे सहयाेगमा