राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने

हिमाल प्रेस २६ पुष २०७९ ९:२०
2
SHARE
राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ।

नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस दिनलाई ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको राप्रपाले जनाएको छ।

बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन्। विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो।

उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाई सार्वजनिक बिदा दिन राप्रपाले माग गर्दै आएको थियो । नेपाल सरकारले सोमबार मात्र पुस २७ लाई राष्ट्रिय बिदा दिने निर्णय पनि गरेको छ ।

राष्ट्रनिर्माता पृथ्यीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय बिदाका रूपमा मनाउने निर्णय गरेर सरकारले राप्रपाको मात्र नभई बहुसंख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान गरेको भन्दै प्रवक्ता श्रेष्ठले सरकारलाई धन्यवाद दिए।

उनले सरकारको यो निर्णय र राप्रपाको विगत लामो समयदेखिको मागको सम्बोधनका कारण पनि भोलि देशव्यापीरूपमा पृथ्वीनाराण शाहको जन्मजयन्ती भव्यरूपमा मनाइने र राप्रपाले आयोजना गरेको जलपानमा पनि नेपालका विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुने विश्वास व्यक्त गरे।

प्रकाशित: २६ पुष २०७९ ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast