भूमिगत पानीको सतह घट्दै

हिमाल प्रेस २६ पुष २०७९ ८:०३
4
SHARES
भूमिगत पानीको सतह घट्दै

नवलपुर- बढ्दो सहरीकरणसँगै जमिनमुनिको पानीको सतह घट्दै गएको जनाउँदै संरक्षणकर्मीहरूले भूमिगत पानी संरक्षणमा जुट्नुपर्ने जोड दिएका छन्। सिँचाइका लागि डिपबोरिङको साटो कुलो तथा नहरको प्रयोग गर्न सरोकारवालाले सुझाव दिएका हुन्।

खानेपानी तथा सिंचाइका लागि डिपबोरिङ खन्ने, सहरी ढल व्यवस्थापनका लागि ड्रेन निर्माण गर्नेलगायतका कारण जमिनमुनि पानीको पानी रिचार्ज हुन नपाएको सरोकारवालाको भनाइ छ।

कार्यक्रममा जैविक विविधता संरक्षण केन्द्र (एनटिएनसी)का प्रमुख डा बाबुराम लामिछानेले निकुञ्ज तथा संरक्षित क्षेत्रमा समेत ताल तथा पोखरी सुक्दै गएको बताए। ‘प्लाष्टिकजन्य फोहरलगायत विभिन्न कारण पानीको सतह घट्दै गएको छ’, लामिछानेले भने, ‘यसबारे हामी समयमा नै सचेत बन्नु आवश्यक छ।’

संरक्षणकर्मी विकास पाठकले बढ्दो सहरीकरणसँगै नदी किनारमा फोहर फाल्ने, खाल्डो खनेर फोहर पुर्नेलगायत कारण जमिनमुनिको पानी प्रदूषित हुँदै गएको बताए। तटबन्धका कारण साना खोला सुक्ने समस्या देखिएकाले खोलाहरू संरक्षण गर्दै तटबन्ध गर्नुपर्नेमा पाठकले जोड दिए। बढ्दो सहरीकरणसँगै बढेको अव्यवस्थित प्लटिङका कारणसमेत जमिनमुनि पानीको सतह घट्दै गएको उनको भनाइ थियो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जीनियर विकास भुर्तेलले डिपबोरिङका कारण जमिनमुनिको पानीको सतह घट्दै गएकाले भविष्यमा खानेपानीकै समस्या हुनसक्नेतर्फ सचेत गराए। ‘बर्सेनि जमिनमुनिको पानीको सतह विभिन्न ठाउँमा मापन भइरहेको छ’, उनले भने, ‘प्राविधिकहरूले गरेको मापनको निष्कर्षले जमिनमुनि पानीको सतह निरन्तर घट्दै गइरहेको देखाएको छ।’

सहमति संस्थाको आयोजनामा भएको ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ कार्यक्रममा परियोजना संयोजक दिनेश बास्ताकोटीले नदी संरक्षणमा काम गरिरहेका जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर कार्ययोजना बनाउने र संरक्षणमा सघाउ पुर्‍ याउने बताए।

नवलपुर, चितवन तथा मकवानपुरका विभिन्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरी निर्माण भएको मस्यौदाबारे छलफल गर्दै संरक्षणका कार्यक्रम अघि बढाइने उनको भनाइ छ। नारायणी तथा राप्ती जलाधार संरक्षणका लागि संयुक्त कार्ययोजना तयार पार्न तीनवटै जिल्लामा व्यापक छलफल गरिएको उनको भनाइ छ।

सोमबार आयोजित कार्यक्रममा ग्रिन पिक्सेलका परामर्शकर्ता वासुदेव न्यौपानेले तीन जिल्लाका ११ लाख जनसंख्या पानीको स्रोतमा निर्भर रहेको बताए।

प्रकाशित: २६ पुष २०७९ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =