झापा- जंगली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको छ। थप ५७ किलोमिटर घेराबारको योजना अघि बढाइएको छ। भारतको पश्चिम बंगालबाट सयौँको बथानमा आउने र स्थानीय जंगलमा बस्ने दर्जनौँ रैथाने हात्तीका कारण जिल्लामा ठूलो जनधनको क्षति हुन थालेपछि घेराबारको उपाय प्रयोगमा ल्याइएको हो।
एक दशकअघि सबैभन्दा पहिला तत्कालीन बाहुनडाँगी गाउँविकास समितिको भारतसँग सीमा जोडिएको मेची नदीको किनारमा १८ किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको थियो। ‘उतिबेला निर्माण गरिएको विद्युतीय बारलाई मर्मत गर्दै अहिलेसम्म प्रयोगमा ल्याइएको छ,’ मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले भने, ‘ब्याट्री डाउन भएको र तार बिग्रिएको रहेछ भने मात्र हात्ती बार नाघेर आउँछन्। नभए करेन्ट लाग्ने डरले गाउँतिर पस्दैनन्।’
सीमा जोडिएका कारण भारतबाट आउने हात्तीको बथान पहिला बाहुनडाँगीमै पस्ने प्रयास गर्छ। सबैभन्दा बढी जंगली हात्तीले जनधनको क्षति पुर्याएको क्षेत्र पनि बाहुनडाँगी नै हो।
मेचीनगर वडा नं १ को तिरिङदेखि वडा नं ६ को नकलबन्दासम्मको १८ किलोमिटर लामो पहिलो चरणको विद्युतीय घेराबारका कारण भारतबाट हात्ती पस्ने क्रम रोकिँदा बाहुनडाँगीवासीले राहत महसुस गरेका छन्।
जिल्लामा मानव-हात्ती द्वन्द्व न्यूनीकरण र जनधनको क्षति रोक्न दोस्रो चरणमा दक्षिणी कचनकबल, हल्दीबारी र भद्रपुरमा ४२ किलोमिटर घेराबार बनाइसकिएको छ। अब तेस्रो चरणमा ५७ किलोमिटर घेराबारको परियोजना कार्यान्वयनमा ल्याइएको छ।
दक्षिणी झापाको जलथल र निचाझोडा जंगलबाट निस्कने हात्तीले कचनकबल, भद्रपुर र हल्दिबारीको मानव बस्तीमा क्षति पुर्याउँदै आएका छन्। दुई वर्षअघि त्यहाँ तारबार गरिएपछि क्षति न्यूनीकरण भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ।
‘अब तेस्रो चरणमा ५७ किलोमिटर सौर्य विद्युतीय घेराबारको काम सुरु गरेका छौँ,’ कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले भने। तेस्रो चरणको कार्यक्रमका लागि नेपाल सरकारले वन मन्त्रालयमार्फत तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
जंगली हात्तीको आक्रमणबाट मानव बस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रूपमा सौर्य विद्युतीय घेराबार मानिँदै आएको छ। झापामा जंगल क्षेत्र धेरै भएका कारण घेराबारलाई क्रमिक रूपमा विस्तार गर्दै लैजान आवश्यक रहेको गौतमको भनाइ छ।
अहिलेको बजेटबाट भद्रपुर र मेचीनगर नगरपालिकाको सीमा क्षेत्रको हातेमालो सामुदायिक वनमा दुई किलोमिटर काम सम्पन्न भइसकेको छ। नेपाली सेनाको चारआलीस्थित ब्यारेक क्षेत्र र मेचीनगरको प्रगति, कालिका, बाँसबारी, मागुरमाडीलगायत सामुदायिक वन क्षेत्रमा घेराबारको काम धमाधम अघि बढाइएको कोषका अधिकृत गौतम जानकारी दिए।
चारआली जंगलको मेचीनगर वडा नं १४ को सीमादेखि १३ मा रहेको सैनिक ब्यारेक फन्को मार्दा छ किलोमिटर घेराबार हुने र बाँकी नौ किलोमिटर पूर्व-पश्चिम राजमार्गको उत्तरी भागको वडा नं ९, ११ र १२ मा रहेका सामुदायिक वनमा काम गरिने उनले बताए। क्रमागत रूपमा बर्सेनि बजेट आउने भएकाले ५७ किलोमिटरमध्ये अर्को बजेटमा बाँकी ४२ किलोमिटर घेराबार थप्दै जाने योजना रहेको उनको भनाइ छ।
झापामा चारआली (निचाझोडा) र जलथल नामका दुई ठूला प्राकृतिक जंगल छन् भने दर्जनौँ सामुदायिक वन रहेका छन्। जंगलको बाहिरी भागमा पर्यटकीय स्थल, मानव बस्ती, सैनिक ब्यारेक आदिलाई जोगाउने उद्देश्यले घेराबार भइरहेको छ। परियोजनालाई स्थानीय पालिकाले भरपुर सहयोग पुर्याएका छन्।
अहिलेको १५ किलोमिटरको घेराबार मेचीनगर क्षेत्रमा गर्ने भनी सरकारी निकायबाटै निर्देशन आएको बताइएको छ। अरू पालिकामा समेत हात्तीको आक्रमणबाट जनधनको क्षति हुने क्रम बढेका कारण जिल्लाको सबै क्षेत्रमा सौर्य विद्युतीय घेराबारका लागि माग हुँदै आएको छ।
घेराबारका लागि १५ किलोमिटरमा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कोषले जनाएको छ। भद्रपुर नगरपालिका-९ मा करिब चार किलोमिटर क्षेत्रमा स्थानीय चन्द्रगढी सामुदायिक वन उपभोक्त समिति आफैँले विद्युतीय बार लगाएको छ।
‘घेराबारले मानव बस्तीसँगै अन्नबालीसमेत जोगाउने भएकाले यो परियोजनामा सरकारले लगानी बढाउन जरुरी छ,’ मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भनिन्, ‘हात्ती आफ्नो बाटो हिँडोस्, जंगलभित्रै डुलफिर गरोस् तर बस्ती पसेर मानिसमाथि आक्रमण गर्ने र बालीनाली खाएर विनाश गरिदिने कार्य बन्द होस् भनेर विद्युतीय बारका लागि हामीले केन्द्रसम्मै पहल गर्दै आएका छौँ।’ -चन्द्रकला भण्डारी/रासस