म्यानचेस्टर युनाइटेड छाड्नुअघि क्रिस्टियानो रोनाल्डोले केही ठूला क्लबसँग आफैँ कुरा गरे। किनभने उनी युरोपियन क्लब फुटबलमै रहन चाहन्थे। जसरी हुन्छ च्याम्पियन्स लिग खेल्ने क्लबसँग आबद्ध हुने उनको इच्छा थियो। उनलाई अनुबन्ध गर्न केही क्लब तयार पनि भए।
तर उनीहरूले प्रस्ताव गरेको तलबमा रोनाल्डोले चित्त बुझाउन सकेनन्। उनलाई अझै पनि आफू उच्च लयमा रहेको विश्वास थियो। ‘म को हुँ, विश्वकपमा देखाइदिन्छु,’ रोनाल्डो यही मनस्थितिमा थिए।
विश्वकप रोनाल्डोले सोचे जस्तो भएन। एक त उनले पहिलो रोजाइको फरवार्ड भएर खेल्नै पाएनन्। खेल्न पाउँदा, उनको प्रदर्शन तारिफयोग्य थिएन। जबकि उनका प्रतिद्वन्द्वी लियोनल मेस्सी अर्जेन्टिनाका लागि लगभग सबै खेलमा निर्णायक साबित भए।
रोनाल्डो र मेस्सी कम्तीमा १५ वर्ष विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्ने दौडमा रहे। यी दुईमध्ये उत्कृष्ट को? यो तेस्रो विश्वका चिया पसलदेखि युरोपका सञ्चारमाध्यममा बहसको विषय बन्यो। तर विश्वकपछि यो बहस टुंगिएको भान हुन थालेको छ। यसको कारण विश्वकप नै हो, जुन मेस्सीले आफ्नो टिम अर्जेन्टिनालाई जिताए।
विश्वकपमा मेस्सीले जसरी अर्जेन्टिनाको नेतृत्व गरे, त्यसले के देखायो भने सर्वोत्कृष्ट खेलाडीको बहस व्यर्थै गरियो। किनभने मैदानमा मेस्सी फेरि एकपल्ट रोनाल्डोभन्दा उम्दा देखिए। यत्तिका वर्ष सर्वोत्कृष्ट खेलाडीको बहसमा रोनाल्डो रहरिहनुमा उनको खेलभन्दा सामाजिक सञ्जाल र ‘पब्लिक रिलेसन्स’ को कमाल हो। यस्तो दाबी गर्नेको संख्या बढिरहेको छ।
त्यसो भए पछिल्लो एक दशकको प्रतिस्पर्धाको महत्त्व रहेन त? के रोनाल्डोका कारण मेस्सी वा मेस्सीका कारण रोनाल्डोले थप मेहनत गरेका होइनन् त? महत्त्व छ। दुवै एकअर्काका लागि प्रेरणाको स्रोत बनेकै हुन्। कुरा यति मात्र हो, कतार विश्वकपले दुई खेलाडीबीचको खाडल छर्लङ बनाइदियो।
विश्वभर अहिलेसम्म जतिले फुटबल खेलेका छन्, तीमध्ये धेरैभन्दा उम्दा खेलाडी हुन् रोनाल्डो। तब त उनले त्यत्तिका गोल गरेका छन्। तर सायद उनी वा अरु कोहीभन्दा मेस्सी नै चम्किला छन्। उनी गोलकर्तामा मात्र सीमित छैनन्। उनी मैदानमा कयौँ भूमिकामा खरो उत्रन सक्छन्।
विश्वकप विजेता बनेपछि मेस्सीको बढुवा भएको छ। अब उनी पेले र म्याराडोनाको कोटीमा पुगेका छन्।
यो विश्वकपको सबैभन्दा बलियो पक्ष के रह्यो? सायद धेरैको उत्तर एउटै हुन्छ, मेस्सी विश्वकप विजेता बन्नु। के भनिँदै थियो भने विश्वकप जितेपछि मात्र मेस्सीको करियर पूर्ण हुनेछ। किनभने विश्वकप जोसुकैले जित्नसक्ने उपाधि होइन। क्लब फुटबलले जे जति उचाइ पाए पनि विश्वकप नै विश्व फुटबलको सगरमाथा हो। आखिरमा सगरमाथाको टुप्पोमा मेस्सी पुगिछाडे।
विश्व खेलकुदले मानेको सर्वमान्य महान् व्यक्ति दुईजना हुन्, पेले र मोहम्मद अली। सन् १९७० मा विश्वकप जितेपछि पेले र त्यसको चार वर्षपछि ‘हेभिवेट टाइटल’ जितेपछि अली, खेलकुदका लागि मात्र होइन समग्र विश्वकै लागि आइकन बने। यी दुईको व्यत्तित्वलाई विश्वले बिर्सिएको छैन। सायद बिर्सने पनि छैन।
पेले र अली जस्तै, मेस्सीले आफ्नो खेल कौशललाई परिस्कृत गरेका छन्। परिस्थिति अनुसार परिमार्जन गरेका छन्। विश्वकप यस्तो उदाहरण थियो। उनले धेरैजसो गोल पेनाल्टीमा गरे। तर ‘ओपनप्ले’ मा भएका गोल कम कलात्मक थिएनन्। चाहे त्यो मेक्सिकोविरुद्धको गोल होस् वा फाइनलको, दुवैमा मेस्सी फुटबलरका रुपमा खुलेका थिए।
लामो समय यस्तो तर्कले स्थान पायो, मेस्सी रोनाल्डोभन्दा उत्तम खेलाडी हुन्। तर उपाधि जित्ने मामलामा रोनाल्डो अघि छन्, उनी सजिलै हार मान्दैनन्। तर अब यो तर्क पनि विश्वकप फाइनलपछि ओझेलमा परेको छ। विश्वकप र कोपा अमेरिकाका उपाधि भिडन्तमा यसअघि असफल भएका मेस्सी यसपल्ट विजेता त बने नै, पूरै प्रतियोगिताको नायक उनी नै बने। फुटबल दिग्गजहरूले त भनेकै छन्, मेस्सीले जसरी अरु खेलाडीले विश्वकपको कुनै पनि संस्करणमा यत्तिको प्रभाव छाड्न सकेका थिएनन्।
रोनाल्डो पनि कम प्रतिभाशाली होइनन्। तर उनको खेलमा ‘टेक्निक’ भन्दा ‘फिजिकालिटी’ को योगदान बढी छ। उनले गरेका उम्दा प्रदर्शन सम्झिँदा उनको बलिष्ठ शरीर पनि स्मरण गरिन्छ। रोनाल्डो सयौँ खेलमा निर्णायक साबित भएका छन्। ती खेलमा उनले गरेका प्राय गोल ‘पावर’, ‘मुभमेन्ट’ र बठ्याइँका नतिजा हुन्। सही समयमा विपक्षीको क्षेत्रमा पुग्नु उनको अर्को सबल पक्ष हो।
तर रोनाल्डो अब पहिले जस्तो बलिष्ठ रहेनन्। ढल्किँदो उमेरका कारण उनी विगतमा जस्तो तीव्र गतिमा खेल्न सक्दैनन्। यही कारण हो, उनलाई दिइने लामा लामा पास वा क्रस अब गोलमा परिणत हुने सम्भावनामा ह्रास आइरहेको। यद्यपि बल नियन्त्रणमा लिने वा राख्ने मामलामा उनी अझै पनि चल्तीका धेरै खेलाडीभन्दा बलिया छन्। पछिल्लो एक वा डेढ वर्षमा भने उनी यो पक्षमा पनि कमजोर बन्दै गइरहेको देखिन्छ।
मेस्सीको पछिल्लो उपलब्धि बहुमूल्य छ। तर रोनाल्डाको पछिल्लो उपलब्धि भनेको अल नासरले प्रदान गरेको महँगो ‘प्याकेज’ हो। हुन त यसो भनिरहँदा उमेरको कुरा पनि आउँला। रोनाल्डो ३८ वर्ष पुगिसके भने मेस्सी ३५ मात्र। तर दुई वर्षपछाडि फर्कने हो भने पनि उपाधि जित्ने मामलामा मेस्सी नै अगाडि थिए। उदाहरणका लागि, कोपा अमेरिका।
रोनाल्डो सन् २०१८ मा युभेन्टस पुगे। लगातार दुई सिजन उनले इटालियन लिग सिरी ए जिते। तर उनी हुँदाहुँदै युभेन्टसको प्रदर्शन ओरोलो लाग्न सुरु भयो। लगातार नौ सिजन लिग च्याम्पियन बनेको युभेन्टस अब मिलान सहरका दुई क्लबभन्दा पछि प¥यो।
त्यसबेला के भनियो भने, रोनाल्डोकै कारण युभेन्टसमा सन्तुलन बिग्रियो। अग्रपंक्तिको केन्द्र उनलाई बनाइँदा युभेन्टसको आक्रामकता कमी आयो। महँगो तलब दिएर रोनाल्डोलाई अनुबन्ध गरेको युभेन्टसको उपाधि जितको शृंखलामा त ब्रेक लाग्यो नै, च्याम्पियन्स लिग जित्ने लक्ष्य पनि पूरा भएन। आखिरमा रोनाल्डो युभेन्टसका लागि निल्नु न ओकल्नु पो बने। युभेन्टस आर्थिक संकटमा फसिरहँदा रोनाल्डोको स्थान्तरणलाई मुख्य कारण बनाइयो।
रोनाल्डोले विश्वकप फाइनल हेरे हेरेनन्, थाहा छैन। तर यही विश्वकपले उनलाई साउदी अरब पुर्याएको अनुमान गर्न गाह्रो छैन। किनभने विश्वकपमा गरेको प्रदर्शनका आधारमा उनलाई अनुबन्ध गर्न ठूला क्लबले गहिरो चासो दिएको देखिएन। यद्यपि उनले आफूलाई विभिन्न देशका क्लबबाट प्रस्ताव आएको बताएका छन्। ‘मलाई ब्राजिल, पोर्चुगल, अमेरिका, अस्ट्रेलियाबाट प्रस्ताव आएका थिए। तर मैले अल नासरलाई वचन दिइसकेको थिए,’ रोनाल्डोले भनेका छन्।
रोनाल्डो साउदी जानुका कारण त्यहाँ फुटबल विकासमा योगदान गर्न भनिएको छ। ‘म यहाँ अल नासरलाई उपाधि जिताउन मात्र होइन। म यो क्लब र साउदीको फुटबल नयाँ दिशामा अघि बढुन् भन्ने चाहन्छु,’ रोनाल्डोको भनाइ थियो।
साउदी आफैँमा गहिरो फुटबल संस्कृति भएको देश हो। विश्वकपमा साउदीले गरेको प्रदर्शन र उसका समर्थकलाई देखेर पनि यसो भन्न सकिन्छ। यसकारण रोनाल्डो यस्तो देश गएका होइनन्, जुसलाई फुटबल लोकप्रिय बनाउन विदेशी खेलाडी चाहिएको छ। रोनाल्डो त्यहाँ यस्तो बेला पुगेका हुन्, जतिबेला उनीसामुन्ने ठूला क्लबका प्रस्ताव थिएनन्। उनलाई मागेजति पैसा दिन युरोपका क्लब तयार हुने अवस्था थिएन।
बरु रोनाल्डो यस्तो देश गएका छन्, जो मानव अधिकारका मामलामा बदनाम छ। ‘साउदी खेलकुदको सहयोगमा आफ्नो परिचय फेर्न चाहन्छ। आफूमाथि लागेका दाग मेटाउन चाहन्छ। मानवअधिकार उल्लघंनका घटनाका कारण आलोचना खेपिरहेको साउदी रोनाल्डोलाई भित्र्याएर विश्वको ध्यान मोड्न चाहन्छ,’ एमनेस्टी इन्टरनेसनलका डाना एहम्मद भन्छन्।
साउदी विश्वकप २०३० को आयोजक बन्न चाहन्छ। यसका लागि साउदीले इजिप्ट र ग्रिससँग मिलेर फिफामा प्रस्ताव राख्दैछ। यो अभियानमा रोनाल्डो पनि साउदीको दूत बन्नेछन्। उसो मेस्सी पनि साउदीका दूत हुन्। उनको जिम्मेवारी साउदीको पर्यटन क्षेत्रको प्रचार गर्नु हो।
फेरि मेस्सी कतारसँग पनि जोडिएका छन्, पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्फत। कतार पनि मानवअधिकारका विषयमा आलोचित छ। यस्तोमा यी दुवै स्टार खाडीका दुई देशको इज्जत प्रवर्द्धनमा खटिएका छन्। फरक यति हो, रोनाल्डोले खाडीमै रहेर यसो गर्नेछन् भने मेस्सी चाहिँ युरोपबाट।
आखिरमा यो विश्व फुटबल लामो समय साक्षी बनेको प्रतिद्वन्द्विताको पछिल्लो अवस्था हो। हुन त दुवै खेलाडी एउटै मिसनमा परिचालित छन्। तर फुटबलको मैदानमा फर्कने हो भने, मेस्सीको स्तर माथि छ। मेस्सी कतारी स्वामित्वको क्लबलाई च्याम्पियन्स लिग जिताउन खटिएका छन् भने रोनाल्डो यस्तो लिगमा छन् जसको महत्त्व विश्व फुटबलका लागि तुलनात्मक रुपमा कम छ।।
अर्को तथ्य यो पनि हो, अल नासरलाई लिग रोनाल्डोबाहेकका खेलाडीले पनि जिताउन सक्छन्। त्यहाँ पहिलेबाटै प्रतिभावान र युरोपेली फुटबलको अनुभव बोकेका खेलाडी छन्। रोनाल्डोले चाहेको भए तलब कटौती स्वीकार गरेर युरोपेली फुटबलमै रहन सक्थे। आफ्नो अनुभव पोर्चुगलको कुनै क्लबमा उपयोग गर्न सक्थे। युनाइटेडले पनि उनलाई फरक भूमिकामा राख्न सक्थ्यो।
तर रोनाल्डो भ्रमबट बाहिर निस्किन सकेनन्। आफू कुन परिस्थितिमा आइपुगेको छु भनेर ख्याल गर्न सकेनन्। वा चाहेनन्।
विश्व फुटबलमा अर्को बहस पनि छ, के रोनाल्डो विश्व फुटबलमा दोस्रो वरीयताका महान् खेलाडीको सूचीमा सूचिकृत छन्? यो सूचीमा ब्राजिलका रोनाल्डो, जिनेदिन जिदानलगायतलाई राखिने गरिएको छ। तर रोनाल्डो आफूलाई दोस्रो वरीयताको सूचीमा राख्न चाहँदैनन्। सायद यही हठका कारण उनी यत्तिको लामो समय युरोपेली क्लब फुटबलको कठिन प्रतिस्पर्धामा टिकेका हुन्।
द इन्डिपेन्डेन्टबाट