काठमाडौँ- बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टले युरोपियन सुपर लिगको सम्भावना अझै बाँकी रहेको बताएका छन्। सुपर लिगको पक्षमा युरोपेली अदालतले सुपर लिगको पक्षमा आदेश सुनाए यो ‘विद्रोही लिग’ सन् २०२५ बाट सुरु हुनसक्ने लापोर्टको भनाइ छ।
युरोपका १२ ठूला क्लबले अप्रिल, २०२१ मा युरोपियन सुपर लिगको गठन गरेका थिए। क्लबहरु आफैँले च्याम्पियन्स लिगको मोडलमा सञ्चालन गर्ने भनिएको यो लिग सञ्चालनमा भने आउन सकेन।
युरोपेली फुटबल महासंघ (यूईएफए) र फिफा मिलेर सुपर लिगविरुद्ध युरोपियन युनियनको अदालतमा मुद्दा लडिरहेका छन्। यूईएफए र फिफाले सुपर लिगमा सहभागी हुने क्लब र खेलाडीलाई कारबाही गर्ने बताएपछि दुई नियामक संस्थाविरुद्ध मुद्दा दायर भएको थियो।
उसो त समर्थक र सरकारले विरोध तथा आलोचना गरेपछि १२ मध्ये नौ क्लब सुपर लिग आयोजनाबाट पछि हटिसकेका छन्। अब बार्सिलोना, रियल म्याड्रिड र युभेन्टस मात्र सुपर लिगलाई अघि बढाउन चाहने क्लबहरूको सूचीमा छन्।
‘आउँदो मार्च वा अप्रिलमा अदालतले आफ्नो निर्णय सुनाउनेछ। आशा छ निर्णयले सुपर लिग आयोजनाको बाटो खुल्नेछ। यो लिग सबैका लागि खुला छ। सीमित क्लबका लागि भएको भए बार्सिलोना यो योजनामा सहभागी हुने थिएन,’ लापोर्टले बार्सिलोनाको स्थानीय रेडियो स्टेसन काडेना एसईआरसँग भनेका छन्।
बार्सिलोनाका अध्यक्ष लोपार्टले युरोपका ठूला क्लबहरू आफैँबाट यूईएफएबाट भन्दा आफैँबाट सञ्चालित हुन चाहेको बताएका छन्।
बार्सिलोनाको प्रतिद्वन्द्वी रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुपर लिगको अवधारणा ल्याएका थिए। जसलाई बार्सिलोनासँगै इंग्ल्यान्डका म्यानचेस्टर युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, चेल्सी र टोटनहम, इटालीका युभेन्टस, एसी मिलान र इन्टर मिलान अनि स्पेनको एट्लेटिको म्याड्रिडले समर्थन गरेका थिए। पछि इंग्ल्यान्डका सबै क्लब, मिलान र इन्टरसँगै एट्लेटिको सुपर लिग आयोजना अभियानबाट बाहिरिएका थिए।
सुपर लिगमा सुरुमा १२ क्लब सहभागी भए पनि थप आठ क्लबका लागि स्थान रहेको बताइएको थियो। पेरेजको अध्यक्षतामा आयोजना हुने भनिएको लिगमा जर्मनीका बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड अनि फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पनि निम्तो दिइएको थियो।
तर यी तीन क्लबले उल्टै सुपर लिगको आलोचना गरेका थिए। इंग्ल्यान्ड, जर्मनी, इटालीका धेरै क्लबले सुपर लिगका कारण युरोपेली क्लब फुटबलको संरचना ध्वस्त हुने चेतावनी दिएका थिए।
जसरी हुन्छ सुपर लिग सुरु गर्ने अडानमा रहेका पेरेजले गत गत अक्टोबरमा आफूहरू हालको युरोपेली क्लब फुटबल संरचनाबाट वाक्क भएकाले सुपर लिगको आवश्यकता महसुस गरेको अभिव्यक्ति दिएका थिए।
पेरेजका मित्र बनेका लापोर्टले सुपर लिग इंग्लिस प्रिमियर लिगलाई समेत टक्कर दिने प्रतियोगिता हुने र त्यसमा इंग्लिस क्लबहरू सुरुमै सहभागी नहुने आकलन गरे। उनका अनुसार सुपर लिग प्रिमियर लिग र च्याम्पियन्स लिगको समिश्रण हुनेछ।