काठमाडौँ- विश्व फुटबल नियामक संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पेलेको निधनपछि फिफा सदस्यहरूलाई आफ्ना देशमा रहेको एक रंगशालालाई पेले नामकरण गर्न आह्वान गरेको थिए। फिफा अध्यक्षको आग्रह मान्ने पहिलो देश केप भेर्डे बनेको छ।
अफ्रिकी देश केप भेर्डेका प्रधानमन्त्री उलिसेस कोरेआ ए सिल्भाले राजधानी प्राइआबाट केही टाढा रहेको राष्ट्रिय रंगशालाको नाम पेले राख्ने घोषणा गरेका हुन्।
‘खेलकुदको माध्यमबाट विश्वलाई एक गर्न सकिन्छ भन्ने सन्देश दिएका फुटबलका राजा पेलेलाई हामी सम्मान गर्न चाहन्छौँ। उनले पुर्याएको योगदानलाई सम्झिन चाहन्छौँ। उसै पनि केप भेर्डे र ब्राजिलबीच गहिरो सम्बन्ध छ। हाम्रो इतिहास र संस्कृतिमा समानता छ। यी दुई देश दिदीबहिनी हुन्,’ १५ हजार दर्शक अट्ने इस्टाडियो नासिओनल डे काबो भेर्डेको नाम पेले राख्ने निर्णय सुनाउँदै सिल्भाले बिहीबार फेसबुकमा लेखेका छन्।
पेले ब्राजिलका लागि मात्र नभएर पोर्चुगिज भाषा बोलिने विश्वका सबै देश र समग्र विश्वको गहनाका रुपमा रहने सिल्भाको भनाइ छ।
विश्व फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका पेलेको निधन गत डिसेम्बर २९ मा भएको थियो। १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका पेलेको श्रद्धाञ्जली सभामा बोल्दै इन्फान्टिनोले फिफा सदस्य देशलाई त्यहाँ भएका एक–एक रंगशालाको नाम पेले राख्न आग्रह गर्ने बताएका थिए।
केप भेर्डेलाई पछ्याउँदै कोलोम्बिया पेलेको नाममा रंगशाला नामकरण गर्ने दोस्रो देश बनेको छ। कोलम्बियाको दक्षिणी प्रान्त मेटाका गभर्नर जुवान गुइलेर्मो जुलुआगाले मेटाको राजधानी भिल्लाभिसेन्सियोस्थित इस्टाडियो बेल्लो होरिजोन्टेको नाम परिवर्तन गरेर पेले राखिने घोषणा गरेका हुन्।
सन् १९८५ मा उद्घाटा गरिएको यो रंगशालामा १५ हजार दर्शक अट्छन्। यो रंगशाला कोलम्बियाको दोस्रो श्रेणीको लिग खेल्ने लानेरोसको घरेलु मैदान हो। ब्राजिलको मासेइयोमा सन् १९७९ बाटै पेलेको नाममा रंगशाला छ।