अमेरिकाबाट अवैध रकम भित्र्याउन खोज्ने पृथ्वी पक्राउ

हिमाल प्रेस २२ पुष २०७९ १७:३६
34
SHARES
अमेरिकाबाट अवैध रकम भित्र्याउन खोज्ने पृथ्वी पक्राउ

काठमाडौँ- अमेरिकाबाट अवैध रकम भित्र्याउन खोज्ने पृथ्वी शाह पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आज शुक्रबार काठमाडौँबाट पक्राउ गरेको हो। सीआईबीले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको बताएको छ।

शाहले माउन्ट कैलाश इनर्जी लिमिटेड, टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रालि, वर्ल्ड एक्स्पोर्ट एण्ड इम्पोर्ट प्रा.लि, वर्ल्ड फस्ट होलिडे प्रालि, वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेण्ट प्रालि, वर्ल्ड वाइड रेमिट प्रालिलगायतका कम्पनीको नाममा विभिन्न देशबाट अवैध रकम नेपाल ल्याएको देखिएपछि नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानबाट खुलेको थियो।

अमेरिकाबाट नेपाल भित्र्याउन खोजेको ४० करोड रुपैयाँ शंकास्पद भएको भन्दै फिर्ता पठाउन अमेरिकी फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। त्यसपछि राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेका थिए।

शाह भारतीय मुद्रा अपचलन मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति पनि हुन्।  तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहको रकम फुकुवा गर्न निर्देशन दिएका थिए। तर गभर्नर महाप्रसाद अधिकारीले त्यसलाई फुकुवा गर्न मानेका थिएनन्। आफ्नो निर्देशन नमानेपछि उनै शर्माको बलमा अधिकारीलाई २०७८ चैत २४ गते निलम्बन गरिएको थियो।

त्यस्तै अधिकारीमाथि छानबिन गर्न भन्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति पनि बनाइएको थियो। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै वैशाख ६ गते गभर्नर अधिकारीलाई जिम्मेवारीमा फर्किन भनेको थियो। त्यसपछि पनि अधिकारी र शर्माबीच राम्रो सम्बन्ध भएन।

प्रकाशित: २२ पुष २०७९ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =