फाइल तस्बिर।
गुल्मी– गुल्मीमा किवीखेतीमा कृषकहरूको आकर्षण बढ्दै जान थालेको छ। जिल्लाको सत्यवती गाउँपालिका-८ भार्सेका किसानहरू आजभोलि किवीखेतीमा आकर्षित हुन थालेका छन्। विगत १० वर्ष अघिदेखि किवीखेती सुरु गरेका त्यहाँका कृषकहरू यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन्। भार्षेका कृषकहरूले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्।
जिल्लामा सबैभन्दा बढी किवीखेती गर्ने पालिकामा सत्यवती गाउँपालिका रहेको छ। सत्यवतीको भार्षेमा हाल २२ हेक्टर क्षेत्रफलमा किवीको व्यावसायिक उत्पादन गरिँदै आएको छ। २२ हेक्टर क्षेत्रफलमा गरिएको किवी उत्पादनबाट यो वर्ष त्यहाँका कृषकहरूले ३८ टन किवी उत्पादन गरेका छन्।
भार्षेमा उत्पादित किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गर्दछ। बजारमा उपलब्ध किवीको तुलनामा यहाँ उत्पादित किवीको औसत मूल्य दुई सय रूपैँया रहेको छ। यहाँका कृषकको मुख्य आम्दानी यतिबेला किवी बनेको छ। यो फलमा धेरै पौष्टिक तत्व भएको कारण सबै उमेर समूहका व्यक्तिहरूका लागि उपयुक्त मानिन्छ।
किवीखेतीका लागि कृषि ज्ञान केन्द्र गुल्मीले पोल, बिरुवा र सिँचाइमा सहयोग पुर्याउँदै आएको छ। व्यावसायिक किवीको उत्पादनमा युवाहरूको चासो बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो। कृषकहरूलाई किवीखेती गर्न प्रोत्साहित गर्नका लागि ज्ञान केन्द्रले किवीको पकेट क्षेत्र निर्धारण गरी आगामी पोल निर्माणमा थप अनुदान उपलब्ध गराउने उनले जानकारी दिनुभयो।
सत्यवती गाउँपालिकाले पनि भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरेको छ। किवीखेतीको व्यावसायिक उत्पादनका लागि कृषकहरूलाई पालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइ लगायतका क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो। भार्षेका शिवलाल थापाले व्यावसायिक रूपमा किवीखेती गर्दै आएका छन्।
उनले किवी बिक्री गरेर वार्षिक ३ लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो। अन्य खेतीको तुलनामा किवीखेतीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ। सिजनमा भार्षेका बारीहरू किवीले ढपक्कै ढाकिएका हुन्छन्। किवी बिरुवाले रोपेको ३ वर्षबाटै फल दिन सुरु गर्दछ। यसले एउटै बोटबाट ६० देखि १ सय किलोसम्म फल दिने गरेको स्थानीय नवीन छन्तेलले बताए।
बाँदर, बँदेल र चराचुरुंगीबाट अन्य खाद्यान्न बाली जोगाउन हैरान भएको अवस्थामा किवीखेती त्यहाँका कृषकहरूका लागि बरदान बनेको छ। किवी बढी झुसिलो हुने भएका कारण पनि बाँदर, बँदेल र अन्य चराचुरुंगीहरू यसबाट टाढै बस्ने गरेको बताइएको छ।
समुद्री सतहबाट १ हजार २ सय मिटरदेखि २ हजार मिटर उचाइसम्ममा किवीखेती उपयुक्त मानिन्छ। गुल्मीमा सत्यवतीलगायत कालीगण्डकी, मदाने, मालिका र धुर्कोट गाउँपालिकाका पनि किवीको व्यावसायिक खेती सुरु गरिएको छ।



